इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोगलाई सर्वोच्चको वैधता


काठमाडौँ ।

सवारीसाधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग सुनिश्चित गर्ने अभियानमा लागेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले अदालतको अवहेलना सम्बन्धी मुद्दामा विजय हासिल गरेको छ । संयुक्त इजलासले अभियानका अध्यक्ष खगेन्द्रप्रसाद लुइटेलविरुद्ध दायर गरिएको अवहेलना निवेदन खारेज गर्दै उनको अभिव्यक्तिलाई सजाय ठहर नगर्ने फैसला गरेको हो ।

यसअघि सञ्जालले नेपाली बृहत् शब्दकोश (२०७२), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र सबैको नेपाली (२०६७) जस्ता निर्णय खारेज गराउन पहल गरेको, विद्यालय तहका पुस्तकहरू मानक वर्णविन्यासमा प्रकाशन गराउन दबाब दिएको, कक्षा ११–१२ मा अनिवार्य नेपाली पुनः कायम गराएको तथा बैंकका एटिएममा नेपाली भाषा अनिवार्य गराउन भूमिका खेलेको छ ।

सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयको विरोधमा सञ्जालले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउँदै अभियान चलाएको थियो ।

उक्त विरोधका क्रममा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले अवहेलना मुद्दा दायर गरेका थिए। तर २०८२ मङ्सिर २८ गते मा. न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अदालतको आदेशपछि सरकारले विषय सम्बोधन गरिसकेको परिवर्तित अवस्थामा अभिव्यक्तिलाई अवहेलना ठहर गर्न नमिल्ने निष्कर्ष निकाल्दै निवेदन खारेज गरेको हो ।

सञ्जालले उक्त फैसलालाई व्यक्तिगत मात्र नभई नेपाली भाषाको विजयका रूपमा व्याख्या गरेको छ । निर्णयसँगै नेपालका सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयले कानुनी वैधता प्राप्त गरेको छ ।

साथै, मुद्दामा सहयोग गर्ने कानुन व्यवसायी तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली भाषाको जगेर्ना, उन्नयन र विकासका लागि अभियान जारी रहने जनाएको छ ।

अध्यक्ष लुइटेलले नेपाली भाषा बचाउ अभियानमा विगत लामो समयदेखि भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको नेपाली भाषाप्रतिको मायालाई विभिन्न क्षेत्रबाट उच्च सम्मान प्रकट गरिएको छ।

पनि