रामेछाप ।
मन्थली नगरपालिका–६ मा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन्। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको छ।
बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका मृतक तथा घाइतेका आफन्तले कार्यालयको मूल गेटमा धक्का दिएपछि प्रहरीसँग ठेलाठेल भएको थियो। गेट तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै प्रहरीले ३ राउण्ड अश्रुग्यास र १ राउण्ड हवाई फायर गरेको जनाएको छ।
घटनापछि प्रदर्शनकारी झन् आक्रोशित बनेका छन्। बुधबार साँझ अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेन। बस सञ्चालक कम्पनी पूर्वी अरनिको यातायात प्रालिका प्रतिनिधि बैठकमा अनुपस्थित भएपछि निष्कर्षमा पुग्न नसकिएको प्रशासनले जनाएको छ।
यसअघि सहमति नजुटेपछि मृतकका आफन्तले बुधबार बिहानैदेखि मन्थली नगरपालिका–६ को आकाशे र भैंसेश्वर क्षेत्र हुँदै जाने मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा सवारी आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो।
काठमाडौँबाट मन्थली–खुर्कोट हुँदै पुष्पलाल राजमार्गमार्फत रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्वी अरनिको यातायात प्रालिको यात्रुवाहक बस मंगलबार बिहान करिब १०ः४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोसी नदीमा डुबेको थियो।
दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकसहित ८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। केही यात्रु अझै बेपत्ता रहेको आशंका गरिएको छ र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार खर्च तथा दीर्घकालीन पालनपोषणको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
तर बस सञ्चालक कम्पनीले यातायात व्यवस्था ऐनअनुसार बिमाबाट ५ लाख रुपैयाँ, किरिया खर्चबापत ५० हजार रुपैयाँ र कम्पनीका तर्फबाट थप प्रति मृतक ३०–३० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पीडित पक्षले अस्वीकार गरेको छ।
क्षतिपूर्तिमा सहमति नजुटेसम्म आन्दोलन जारी राख्ने चेतावनी पीडित पक्षले दिएको छ। जिल्लामा अवस्था तनावपूर्ण बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।











प्रतिक्रिया