काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मुलुकका प्रमुख राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण स्पष्ट पारेको छ ।
नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिस्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’सँग सम्बन्धित रहेको आरोप लगाएको छ । प्रतिबद्धतापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिस्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ ।
नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ । अर्कोतर्फ, नेकपा (एमाले) र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी’को संज्ञा दिँदै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको दाबी गरिएको छ ।
पार्टीले विशेष गरी नयाँ उदाउँदा शक्तिहरूमाथि प्रहार गरेको छ । प्रतिबद्धतापत्रमा भनिएको छ, ‘आफूलाई नयाँ भन्ने पपुलिस्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ । यो भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो ।’ यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र उनीहरू देश र जनताको हितमा नरहेको दाबी नेकपाको छ ।
त्यस्तै, राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गरिएको छ । जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यी शक्तिहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप लगाइएको छ ।
विगतका जनसंघर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता अधिकारहरू आफ्नै कारण प्राप्त भएको उल्लेख गरेको छ । ‘हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,’ भन्दै नेकपाले अरू दलले गफमात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेकपाको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौंमा मेट्रोरेल र मोनोरेल सञ्चालन गर्ने ठूला नदीमा जल यातायात तथा सात प्रदेश सात हब, पूर्वमा उद्योग र सुदूरमा पर्यावरणीय पर्यटन सञ्चालन गर्ने उल्लेख गरिएको छ ।











प्रतिक्रिया