नेपाल–भारत सीमा सुरक्षा सहकार्य जरुरी


काठमार्डां
नेपाल र भारतबीच सीमा सुरक्षा र व्यवस्थापनलाई बलियो बनाउन नेपाल भारत संयुक्त कार्यदलले काम गरिरहेको छ । तर सीमापार आतंकबाद र अबैध गतिविधिको जोखिम नियन्त्रण भने प्रभावकारी हुन सकेको छैन । सुरक्षा विज्ञहरु भने परम्परागत ढंगबाट हुने सीमा सुरक्षा र व्यवस्थापनले दुई देशका नागरिकलाई अनावश्यक सास्ती खेप्न मात्र बाध्य पार्ने तर सीमापार आतंकबाद र अबैध गतिविधिको जोखिम नियन्त्रण भने प्रभावकारी नहुने भन्दै सीमा निगरानी र सुरक्षासँग सम्बन्धित खुफिया सूचना आदानप्रदानलगायतका सुरक्षा सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले परम्परागत तथा गैर–परम्परागत सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल र भारतबीच नीतिगत समन्वय, सहकार्य निरन्तरता र साझा सुरक्षा हितका लागि खुफिया सहकार्यको आवश्यकता औंल्याए ।


नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नीस) ले मंगलबार आयोजना गरेको ‘क्षेत्रीय सहनशीलता : नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयक विषयक नेपाल–भारत थिंक ट्यांक फोरमका बक्ताहरुले सुरक्षा सहकार्य सुदृढीकरणमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बंसलले बम, गोली र भौतिक बन्दोबस्तीले मात्र आतंकबादी गतिविधिलाई रोक्न नसक्ने जिकिर गर्दै खुफिया सूचना आदानप्रदान र अतिवादी विचारधाराहरुको पृष्ठभूमी र कारणहरु पहिल्याउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।


काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सहसंस्थापक डा. गौरव सैनीले खुला सीमा, गहिरो व्यापारिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धले नेपाल–भारत सीमालाई विशेष बनाउनुका साथसाथै यसले मानव तस्करी, लागूऔषध ओसारपसार र नक्कली मुद्रा जस्ता चुनौतीहरू सिर्जना गरेको बताए। उनले जनवरी २०२६ मा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटनालाई उदाहरणसमेत प्रस्तुत गरे।


कार्यक्रममा सुरक्षाविद् मेजर जनरल (सेवानिवृत्त) विनोज बस्न्यातले सुरक्षा नीति परम्परागतभन्दा पनि स्मार्ट हुनुपर्नेमा जोड दिंदै सुरक्षा सहकार्यमार्फत सीमा व्यवस्थापनलाई सहज र सुरक्षित बनाउनुपर्ने बताउनुभयो । उहाँले सीमामा भौतिक बन्दोबस्तीलाई कडाइ गर्दा सीमा क्षेत्रका नागरिकहरुले अनावश्यक दुःख खेप्नु पर्ने जिकिर गर्दै सूरक्षा रणनीतिमा परिवर्तन ल्याउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।


भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार राजदूत पंकज सरनले नेपाल–भारत सम्बन्धको भविष्य निर्माणमा दुवै देशका युवाहरूको सहकार्य अपरिहार्य भएको धारणा राखे। त्यसैगरी जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियालले नेपाल–भारत सम्बन्ध प्रबद्र्धनमा थिंक ट्यांक र शैक्षिक संस्थाहरूको सक्रिय भूमिका रहेको बताइन् ।