गरिमा सुवर्ण योजना सार्वजनिक निष्कासनका लागि स्वीकृत


काठमाडौँ
गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना गरिमा सुवर्ण योजना सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस सामूहिक लगानी कोषलाई २०८२ साल माघ २१ गते बोर्डले औपचारिक स्वीकृति दिएको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि अब छिट्टै नै सार्वजनिक निष्कासनमा आउन लागेको गरिमा सुवर्ण योजनाको कुल आकार एक अर्ब रुपियाँ रहेको छ । खुलामुखी योजनाका रूपमा सञ्चालन हुने यस योजनामा प्रतिइकाई मूल्य दश रुपियाँ कायम गरिएको छ । पहिलो चरणको प्रारम्भिक निष्कासनमा बीज पुँजीसहित पाँच करोड इकाई जारी गरिनेछ भने कुल निष्कासनमध्ये कम्तीमा पचास प्रतिशत अर्थात् दुई करोड पचास लाख इकाई बिक्री हुनुपर्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम एक सय इकाईदेखि अधिकतम पचास लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

खुलामुखी योजना भएकाले यसको निश्चित अवधि रहने छैन र यो योजना निरन्तर रूपमा सञ्चालन हुनेछ । योजनाका इकाई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नहुने भए पनि योजना व्यवस्थापकद्वारा सञ्चालन गरिने अनलाइन खरिद–बिक्री प्रणालीमार्फत लगानीकर्ताले इकाई किनबेच गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

यस योजनाको कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट काठमाडौँ रहेको छ भने निष्कासन तथा बिक्री प्रबन्धक, योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौँले सम्हालेको छ । योजनाको कोष सुपरिवेक्षकका रूपमा शंकर प्रसाद कोइराला, बाबुराम रेग्मी, रामजी रेग्मी, जलेश्वर पाण्डे तथा अच्युत राज जोशी रहेका छन् ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर हो। गरिमा क्यापिटलले प्रदान गर्ने सम्पूर्ण सेवा गरिमा विकास बैंक लिमिटेडका सबै शाखा कार्यालयमार्फत समेत सहज रूपमा उपलब्ध हुँदै आएको छ । संस्थाले आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग गर्दै आफ्ना सेवा अझ परिस्कृत, प्रभावकारी र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।