एकैदिन तोलामा १३ हजारभन्दा बढीले घट्यो सुन, मूल्य कति पुग्यो ?


काठमाडौँ।

नेपाली बजारमा सुनको मूल्य लगातार घट्ने क्रममा सोमबार पनि ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ रहेको थियो। केही दिनअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो। त्यसयता सुनको मूल्य निरन्तर ओरालो लागेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग घटेका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।