भक्तपुर।
यतिबेला देश निर्वाचनको संघारमा छ । उम्मेदवारहरू मतदाता रिझाउन सभा, समारोह र घरदैलोमा व्यस्त छन् । यो माहोलले भक्तपुरलाई पनि नछुने कुरै भएन।
भक्तपुर निर्वाचन क्षेत्र नं १ भन्नेबित्तिकै यो क्षेत्र नेपाल मजदुर किसान पार्टी र अध्यक्ष नारायण बिजुक्छेको गढका रूपमा चिनिन्छ । नेमकिपाले २०४८ सालदेखि लगातार जित दर्ता गर्दै आएको यो क्षेत्र अरू दलका लागि टाउको दुखाइ बन्दै आएको छ । तर, पनि फागुन २१ को निर्वाचनमा नेमकिपाको किल्ला भत्काउन अन्य दल दिलोज्यानले लागिपरेका छन् ।
पछिल्लो समय निर्वाचन क्षेत्र निर्धारण आयोगले नेमकिपालाई झन् सहज हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरेपछि नेमकिपालाई पराजित गर्न अन्य दललाई फलामको च्युरा चपाउनुसरह भएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सबै दलको नेमकिपाविरुद्ध भक्तपुरको विकास नगरेको, संसद्मा जितेर भक्तपुरको विकासका ठूल्ठूला योजना नल्याएको आरोप लगाउने गरेका छन् । नेमकिपा आफू सरकारमा नजाने तर सरकारमा जाने दलको विरोध र आलोचनामात्र गर्ने आरोप पनि नेमकिपामाथि लाग्दै आएको छ ।
त्यसो त केही वर्ष अघिसम्म नेमकिपाले कांग्रेससँग आलोपालो जित्दै आएको भक्तपुर क्षेत्र नं. २ मा भने निर्वाचन क्षेत्र निर्धारण आयोगले नेमकिपालाई १ मा झन् सहज हुने गरी गरेको असरका कारण यहाँ नेमकिपा प्रतिस्पर्धामा मात्रै सीमित हुँदै गएको देखिन्छ ।
भक्तपुर निर्वाचन क्षेत्र १ मा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्दछन् । अन्य दलको नेमकिपाले आफ्नो भोट बैंकका रूपमा रहेको भक्तपुर नगरलाई मात्र हे¥यो, साविकका गाविस र हालको चाँगुनारायण नगरपालिकाका बासिन्दाको जीवनस्तर उकास्न केही नगरेको आरोप छ ।
तर, देशका अन्य भागमा नयाँ दलको लहरको चर्चा परिचर्चा भइरहँदा नेमकिपा भने यहाँ आफ्नो किल्ला नभत्किनेमा निश्चिन्त छ । यस क्षेत्रमा १६ राजनीतिक दल र ९ स्वतन्त्र उम्मेदवारसहित कुल २५ जना प्रतिस्पर्धी रहेका छन् ।
भक्तपुर–१ मा २०४८ देखि २०७० सम्म पाँच निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी हुनुभएको थियो । त्यसपछिका २०७४ र २०७९ को निर्वाचनमा पार्टीका नेता प्रेम सुवाल निर्वाचित हुनुभएको थियो । ०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँका प्रमुख, उपप्रमुखसहित सबै १० वडा नेमकिपाले जितेको थियो ।
तर, चाँगुनारायण नगरपालिकामा राजनीतिक समीकरण फरक देखिन्छ । त्यहाँ नेमकिपाले केवल एक स्थान वडा नं. ९ को वडाध्यक्ष जित्दा, अन्य वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२,७६१ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११,९६८ मतमात्र प्राप्त गर्नुभएको थियो । त्यसै गरी, राप्रपाका भरतबहादुर खड्काले ९,३०३ मत, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५,२८३ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार नहुँदा मतान्तर ठूलो देखिएको थियो ।
तर, योपटक आफ्नो राम्रो प्रभाव भएका नेपाली कांग्रेसबाट अधिवक्ता किरण न्यौपाने र नेकपा एमालेले चाँगुनारायणका पूर्व प्रमुख सोमप्रसाद मिश्र नै प्रतिस्पर्धामा रहेका र लोकप्रियताका कारण पनि नेमकिपाको भोट धेरै नै काटिने देखिन्छ ।
यसका साथै अघिल्लो निर्वाचनमा भक्तपुर जिल्लामा ११ हजारभन्दा माथि समानुपातिक भोट ल्याएको रास्वपासमेत प्रतिस्पर्धामा रहेका कारण पनि यो पटकको निर्वाचन आफ्नो लामो विरासत कायम राख्दै आएको नेमकिपाका सहज जितमा बाधा उत्पन्न हुने देखिएको छ ।
यसपटक पनि नेमकिपाले प्रेम सुवाललाई उम्मेदवार बनाएको छ । उहाँका मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका न्यौपाने, नेकपा (एमाले) का मिश्र, नेपाली कम्युनिस्ट पार्टीका हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित रहेका छन् ।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजू, नेकपा (माओवादी) का चन्द्रमान कोजू, नेकपा (संयुक्त) का दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल र आमजनता पार्टीका देवेन्द्र ठाकुरसमेत उम्मेदवार रहेका छन् ।
भक्तपुर १ क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी एक लाख सात हजार ५४ मतदाता छन् । यो क्षेत्रमा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पनि क्षेत्र नम्बर १ मा नेमकिपाले ३२ हजार ९०४ ल्याउँदा अन्य दल त्यसको एक तिहाई मत प्राप्तिको सीमामा खुम्चिएका थिए । आसन्न निर्वाचनमा नेमकिपा विरासत जोगाउने र प्रमुख दल कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपा किल्ला भत्काउने दाउमा देखिन्छन् ।











प्रतिक्रिया