विश्वव्यापी लेखा तथा वित्तीय आउटसोर्सिङ सम्बन्धी सम्मेलन सम्पन्न


काठमाडौँ
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को २९औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा ‘विश्वव्यापी लेखा तथा वित्तीय आउटसोर्सिङः प्रवृत्ति, क्षेत्रीय दृष्टिकोण र उदीयमान अवसरहरू’ विषयक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको पहिलो सत्रमा सरकारको स्थायित्व, व्यवसाय गर्न सहजता, भाषिक दक्षता, विशेष योग्यताको गहिराइ, पेशागत दक्षता तथा प्राविधिक पक्ष आउटसोर्सिङ बजारका प्रमुख प्रेरक तत्व भएकोमा जोड दिइयो । प्रविधि अनुकूलन, सीप विकास, रणनीतिक नेतृत्वमा लगानी गर्दै परम्परागत लेखाबाट रोबोटिक प्रोसेस अटोमेसन (आरपीए), एआई अटोमेसन उपकरणजस्ता नयाँ युगका लेखा प्रणालीतर्फ रूपान्तरण गर्न सकिएमा नेपालले विश्वव्यापी लेखा तथा वित्तीय सेवाको आउटसोर्सिङ बजारमा आफूलाई प्रतिस्पर्धी राष्ट्रका रूपमा स्थापित गर्न सक्ने धारणा सहभागीहरूले व्यक्त गर्नुभयो ।

सत्रको अध्यक्षतामा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले गर्नुभएको थियो । प्रमुख मन्तव्य प्रस्तुत गर्न डाइरेक्टर अफ रिमोट सर्भिसेज डेविड हिलले गर्नुभएको थियो । प्यानलिस्टहरूमा एजीके पार्टनरका साझेदार सरोज सापकोटा, जेएचएस कन्सल्टिङका आउटसोर्सिङ पार्टनर तथा सेन्टर अफ एक्सेलेन्सका प्रमुख सीए धवलकुमार दीपक ठक्कर, तथा स्ट्रेलिङ वेल्सका ऋभ्इ सीए राजु गजुरेल हुनुहुन्थ्यो ।

सम्मेलनको दोस्रो सत्र ‘नेपालमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) र सूचना प्रविधि (आईटी) आउटसोर्सिङः प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’ विषयमा सम्पन्न भयो । यस सत्रमा बीपीओ÷केपीओ क्षेत्रसँग सम्बन्धित वर्तमान नीति, चुनौती, पहल तथा आगामी मार्गचित्रमा गहिरो छलफल भयो। सम्मेलनले सरकार र बहुपक्षीय निकायबीच सहकार्य, नीतिगत सुधार र स्थायित्वले नेपालमा बीपीओ÷केपीओ क्षेत्रको विकासलाई तीव्र बनाउने निष्कर्ष निकालेको छ ।

यस सत्रमा सीए आनन्दराज शर्मा वाग्लेले संस्थाले अघि सारेको ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ’ परियोजनाले आगामी एक दशकमा वार्षिक रूपमा १ लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने र ६ अर्ब अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।
तेस्रो सत्रमा नेपालमा आउटसोर्सिङ व्यवसायमा संलग्न पेशाकर्मीहरूको वास्तविक अनुभव आदानप्रदानमा केन्द्रित छलफल भएको थियो । प्यानलले नेपालको आउटसोर्सिङ फर्महरूले दिगो सञ्चालनका लागि बुककिपिङ तथा नियमित सेवामा मात्र केन्द्रित नभई विशेषीकृत सेवाप्रवाह, मानव संसाधन विकास र कार्यसंस्कृति÷आचारसंहितामा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । सत्रको अध्यक्षतामा आइक्यानका काउन्सिल सदस्य सीए उमेशराज पाण्डेयले गर्नुभएको थियो । प्यानलिस्टहरूमा आइक्यानका महासचिव सीए प्रदीप अर्याल, ब्ऋऋब् नेपालका प्रमुख रबिन कटवाल, फोर सिमेट्रोन्सका निर्देशक सीए शंकर थापा, इनभेस्टर फ्रेन्डली सीपीएका ऋभ्इ आशिष आचार्य र फोकस योर फाइनान्सका ऋभ्इ गणेश दाहाल हुनुहुन्थ्यो ।

साँझमा आइक्यानको २९औँ वार्षिकोत्सव समारोह पनि सम्पन्न भयो । प्रमुख अतिथिका रूपमा उपस्थित अर्थमन्त्री रामेश्वर खनालले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधिहरूको प्रशंसा गर्दै नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुधारमा आइक्यान सदस्यहरूको योगदान उच्च मूल्यांकन गर्नुभयो। उहाँले नेपालबाट सेवा निर्यातको आवश्यकतामा जोड दिँदै सूचना प्रविधिमार्फत लेखा सेवाहरू निर्यात गर्ने ठूलो सम्भावना रहेको बताउनुभयो ।

विशेष अतिथि महालेखानियन्त्रक शोभाकान्त पौडेलले आइक्यानको २९औँ वार्षिकोत्सवको अवसरमा बधाई व्यक्त गर्दै नेपालमा वित्तीय सेवा क्षेत्रमा चार्टर्ड एकाउन्टेन्ट तथा लेखा व्यवसायीहरूको महत्वमाथि प्रकाश पारे। महालेखा परीक्षक तथा कार्यक्रमका अर्का विशेष अतिथि तोयम रायाले सरकारी तथा निजी क्षेत्र दुवैमा लेखापरीक्षणको महत्व, कार्यसम्पादन लेखापरीक्षणको आवश्यकता र एआई लगायत नवीनतम सूचना प्रविधिको प्रयोग आवश्यकतामा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले आइक्यानको वर्तमान रणनीति, नेपाल परियोजना अन्तर्गतको ग्लोबल अकाउन्टिङ इनिसिएटिभ, क्याम्पस प्लेसमेन्ट परियोजना तथा विभिन्न निकायसँगका समझदारीबारे जानकारी दिनुभयो। उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै वार्षिकोत्सव समारोह औपचारिक रूपमा समापन गर्नुभयो ।

समारोहमा प्रमुख अतिथिले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रतियोगिताका विजेतालाई ट्रफी, पदक र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।