डियाजियो इन्डियाको ‘वल्र्ड क्लास’ कार्यक्रमद्वारा दक्षिण एसियामा बारटेन्डिङ पेशाको नयाँ पहिचान


काठमाडौँ
डियाजियो इन्डियाद्वारा सञ्चालित ‘वल्र्ड क्लास’ कार्यक्रम बारटेन्डिङ क्षेत्रलाई एक गम्भीर, सम्मानजनक र दिगो पेशाका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको दीर्घकालीन प्रतिभा विकास तथा इकोसिस्टम सुदृढीकरणको पहल हो । बारटेन्डिङलाई केवल रोजगारी नभई दीर्घकालीन करियरका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रम हाल आफ्नो बाह्रौँ वर्षमा प्रवेश गरिसकेको छ । प्रतिस्पर्धा, मेन्टरसिप र व्यावसायिक शिक्षालाई एकीकृत गर्दै यसले प्रारम्भिक पहिचानदेखि अन्तर्राष्ट्रिय स्तरको मान्यतासम्म बारटेन्डरहरूलाई मार्गदर्शन गर्दै आएको छ ।

प्रतिस्पर्धाका रूपमा सुरु भएको वल्र्ड क्लास आज करियर निर्माण, बार समुदाय सशक्तीकरण तथा भारत र दक्षिण एसियाभर पेय पदार्थ र आतिथ्य सेवाको स्तर उकास्ने प्रभावशाली प्लेटफर्मका रूपमा विकसित भएको छ । डियाजियो इन्डियाले तालिम, विश्वव्यापी पहुँच र उद्योगसँगको सञ्जालमार्फत बारटेन्डरहरूको यात्रामा निरन्तर साथ दिँदै आएको छ, जुन एउटै संस्करणमा सीमित नहुने दीर्घकालीन पहल हो ।

वल्र्ड क्लास कार्यक्रम बहु–चरणीय संरचनामा सञ्चालन हुन्छ। खुला आवेदन र अनलाइन प्रस्तुतीकरणबाट सुरु हुने यस प्रक्रियामा सहभागी बारटेन्डरहरूले परम्परागत ककटेललाई आफ्नै सिर्जनशील शैली र दृष्टिकोणबाट पुनःव्याख्या गर्छन्। सयौँ आवेदनमध्ये उत्कृष्ट एक सय जनाको छनोट गरी भारत तथा दक्षिण एसियाका विभिन्न स्थानमा आयोजना हुने क्षेत्रीय चरणमा सहभागी गराइन्छ । त्यसपछि उत्कृष्ट सोह्र जना बारटेन्डर राष्ट्रिय फाइनलमा प्रवेश गर्छन्, जहाँ स्वादको समझ, प्रविधि, कार्यगति, कथा प्रस्तुतिकरण र अतिथि अनुभवका आधारमा मूल्याङ्कन गरिन्छ । अन्ततः एक जना भारत वा दक्षिण एसियाको प्रतिनिधि चयन भई विश्वस्तरीय अन्तर्राष्ट्रिय फाइनलमा सहभागी हुने अवसर पाउँछन् ।

वल्र्ड क्लास २०२६ संस्करण विशेष महत्वको मानिन्छ। पहिलोपटक भारत, नेपाल र श्रीलङ्का एउटै दक्षिण एसियाली प्लेटफर्मअन्तर्गत सहभागी भएका छन्, जसले यस क्षेत्रको ककटेल संस्कृतिको साझा विकासलाई प्रतिबिम्बित गरेको छ। यस वर्ष दोस्रो र तेस्रो श्रेणीका शहरहरूबाट उल्लेखनीय सहभागिता देखिएको छ भने महिला बारटेन्डरहरूको सहभागिता अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। यसले बारटेन्डिङ पेशा महानगर केन्द्रित सीमाबाट बाहिर विस्तार हुँदै गएको संकेत गर्दछ।

शिक्षा र मेन्टरसिप वल्र्ड क्लास कार्यक्रमको मूल आधार हो। कार्यशाला, स्वाद–आधारित अभ्यास तथा व्यवहारिक तालिममार्फत सहभागीहरूलाई प्रविधि, कार्यदक्षता र आतिथ्य सत्कारका आधारभूत सीपहरूमा प्रशिक्षण दिइन्छ। अघिल्ला विजेता तथा पूर्व सहभागीहरू नै मेन्टर, प्रशिक्षक र निर्णायकका रूपमा सहभागी भई आफ्नो अनुभव नयाँ पुस्तासँग बाँड्ने परम्परा यस कार्यक्रमको महत्वपूर्ण विशेषता हो। यसले बारटेन्डिङलाई अस्थायी पेशाभन्दा माथि उठाएर दीर्घकालीन करियरका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमले बारभित्र सीमित नरही ककटेल महोत्सव, अस्थायी कार्यक्रम तथा विशेष बार अनुभवमार्फत उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध निर्माण पनि गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले पाहुनाहरूलाई आधुनिक दक्षिण एसियाली ककटेल संस्कृतिको विकासमा योगदान दिने सोच, स्वाद र प्रतिभासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्छन् भने बारटेन्डरहरूलाई आफ्ना सीप र सिर्जनशीलता प्रस्तुत गर्ने वास्तविक मञ्च उपलब्ध गराउँछन्।

डियाजियो इन्डिया भारतका अग्रणी मदिरा तथा पेय पदार्थ कम्पनीहरूमध्ये एक हो। डियाजियो पीएलसीको सहायक कम्पनीका रूपमा युनाइटेड स्पिरिट्स लिमिटेडअन्तर्गत सञ्चालन भइरहेको यस कम्पनीको मुख्यालय बेंगलुरुमा रहेको छ। देशभर ३६ उत्पादन केन्द्र रहेको डियाजियो इन्डियाले विश्वप्रसिद्ध तथा स्वदेशी प्रिमियम मदिरा ब्रान्डहरूको उत्पादन, बिक्री र वितरण गर्दै आएको छ। सामाजिक जिम्मेवारीप्रति प्रतिबद्ध कम्पनीले दिगोपन, जिम्मेवार उपभोग र मदिरा उद्योग इकोसिस्टमको विकासमार्फत समग्र सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउँदै आएको छ।