लोकतन्त्र बदनाम हुँदाको पीडाबोध

846
Shares

अरू देशमा लोकतन्त्र भनेपछि कत्रो सान र मान छ, इज्जत छ, प्रतिष्ठा छ, त्यसैबाट देशको नाम छ, रोग र शोकविहीन समाज छ । तर हाम्रो लोकतन्त्रमा भोक छ, रोग छ, कुशासनको जग छ, अस्थिरता र परिवारवाद छ । देशको केन्द्रीय निकाय बनाई १०४ वर्ष जसले देश जिम्मा लिए, केही छोडेर गए तर पछिल्ला ३५ वर्षमा अर्काले सिध्याए, नयाँ श्री ३ हरुले । सिंहदरबार घुम्टो हालेर बसेको छ, लाजले देशको शिर निहुरिँदै छ, पुरानो नामो निसाना भेटिएन । बालकोट दरबारको प्रतिष्ठा गुण्डुतिर सरेको छ, बूढानीलकण्ठ, च्यासलहरु पनि क्षतविक्षत छन् अहिले ।

महान् शक्तिशाली लोभतन्त्रको जरा खल्बलिएको छ । चतुर खेलाडी तयार गर्ने लोकतन्त्रले आफ्नो साख गिराएर दलीय सरकार भन्दै पटक–पटक निर्दलीय चरित्रको सरकार बनायो, जनतालाई झुक्यायो, गरिबी हटाउने भन्यो, तर तथ्यांकमा पनि घटाउन सकेन, व्यवहार त के सक्नु ? सरकारी तथ्यांक करिब २२ प्रतिशत जनता निरपेक्ष गरिबी भनिरहँदा आधाआधी जनता गरिबीमा रहेका र त्यो शोक, त्यो भोक टार्नका लागि मलेसिया र खाडीमा पुर्पुरोमा हात लगाउँदै छन् ।

अब अमेरिकामा शून्य प्रवेश भन्ने ट्रम्पको नारा छ । खाडी पनि नेपाली शून्यको अवस्था भए अब घेर्ने कहाँ कसको घर ? गुण्डु, बूढानीलकण्ठ मात्रै नभएर ज्यानमाथि नै हुन सक्छ खतरा । खतराबाट बालबाल बचेका श्री ३ हरु एकले स्वघरबाट हुंकारको दज्र्यानी चिह्न पाएका छन् भने अर्का श्री ३ ले भुकुटीमण्डपबाट स्वाद चाखिरहेका छन् । अर्का श्री ३ घरको न घाटको हुँदै डेरा सर्दै छन् । समाजवादको नारा दिएर नथाक्ने यी ३ श्री ३ हरुले देश जिम्मा लिएको करिब ४ दशकमा राष्ट्रिय एकता धरापमा परेको छ भने देश निर्माताको सम्झना मात्र गराउनलाई ३ दशकको समय लागेको छ ।

मुख देखाइ नसक्नु अवस्थाले पुगेन, कार्यवाहक दिएर विदेशिएका श्री ३ ले के ढाडस पाए, फर्केर आए तर अर्का पुस्ताको रडाको खेप्नुपरेको छ । यिनकै पालामा बालकोट हुंकारको साक्षी बस्दा मौलिक हक सामाजिक सञ्जाल मात्रै खेर गएन, होनाहार ७ दर्जन नेपालीहरु खेर गए, खर्बौंको नोक्सान त सशस्त्र द्वन्द्वमै भएको थियो । अर्को भयानक द्वन्द्व दुई दिनमा खर्बौं खर्बको संंरचना ध्वस्त भयो । सिंहदरबारको शान–मान सबै गएर पुगेन, सभापतिको लोभी पद र गुण्डुको इशारामा आफ्नै घर जलाएर खरानीको टीका लाउनुपरेको छ । गगनहरुको साँढे जुधाइ पनि यिनले खेप्नुपरेको छ । लोकतन्त्रको रसातल भसाइ त यिनले गराए नै, जनतालाई खाडी धकेले र यहाँ सबैभन्दा गरिबीको ठूलो खाडल तयार गरे ।

औसत गरिबी २१ प्रतिशत भनिए पनि कतै ७७.८९ प्रतिशतको गरिबी छ यहाँ । भ्रष्टाचारले चुर्लुम्म परेको कुशासनको नेतृत्व लिएको लोभतन्त्रले होनाहार युवा पुस्तालाई झुटा मुद्दा लगाएर थन्क्याउन प्रयत्न गरेको देखियो र निर्दलीय सरकार आएपछि रविहरु थुनामुक्त मात्रै होइन, संगठित र मुद्रा निर्मलीकरणको मुद्दासमेत वापस लिइएको अवस्था छ । नयाँहरु आए भने आफ्नो पत्तासाफ हुने सोचेर यिनले मिलिभगतमा झुटा मुद्दा लगाए । लोकतन्त्रको अभिशाप बनेका श्री ३ हरुलाई अभैm पश्चात्ताप भएको छैन र ¥याल काढेर आउने चुनावमा फेरि जलेको सिंहदरबार जाने अनि बालुवाटार पसेर देशको ढुकुटी सोहोर्ने मनसायमै रहेका छन् । यिनले यो समयमा लिएका सुरक्षा खर्च, उपचार खर्च र यिनका मान्छेले सत्ता कब्जा गरेर तमाम संयन्त्रहरु कब्जा गरेकाले नयाँ आउनेहरुले यिनको सबै हिसाबकिताब खोज्नुपर्ने हुन्छ ।

अहिले जनतालाई चुनाव चाहिएको थिएन । अहिले चुनाव चाहिएको निर्वाचन आयोगलाई हो, प्रहरीलाई हो, सेनालाई हो, जसबाट देशमा केही अर्थचक्र चलायमान होस्, बिग्रे–मक्किएका मेसिनरीहरु बनून्, सवारीसाधनहरु दुरुस्त होऊन्, चुनावको लेखाजोखा आन्तरिक परीक्षण सहज हुन्छ अरु खर्चभन्दा । अन्यथा देशमा बेरुजु धेरै छ, व्यापारघाट धेरै छ, ऋण धेरै छ र अहिले ज्येष्ठ नागरिकको भत्ता वा सुविधा काटेर, पूँजीगत खर्च काटेर, योजना–परियोजनामा जाने रकम काटेर चुनावतिर पैसा खर्च गरिँदै छ । करिब सवा खर्बको बजेट व्यवस्थापन चुनावकै लगि भइसकेको बुझिन्छ ।

निर्वाचन आयोगले मागेभन्दा कम झन्डै ८ अर्ब, गृह मन्त्रालयले मागेभन्दा कम झन्डै १० अर्ब, सेनाले पनि मागेभन्दा कम करिब साढे ३ अर्बको बजेट गइसकेको भनाइ आएको छ । प्रहरी संगठन ठूलो छ, सेनाको पनि, अप्ठेरो पर्दा न सेनाले काम गरेको छ, प्रहरी त निरीह नै भएको हो । अब अर्बौं रकम जोहो गरी म्यादी प्रहरीबाट चुनाव गराउनुपरेको छ । यस्तो अस्थायीका लागि ८ अर्बको बजेट आवश्यक भनिएको छ । सीमा सुरक्षाभन्दा नेता सुरक्षा गर्ने लोकतन्त्र छ हाम्रो ।

चुच्चे नक्साभित्र रासन–पानी, शिक्षा, सुरक्षा, स्वास्थ्यको अवस्था के छ र भित्रै पनि के–कस्तो अवस्था छ ? आम नागरिक जागरुक भइसकेका छन् । यो तन्त्रले जनतालाई बाठो गराउने कामबाहेक केही गरेन, बरु उत्पादन शून्य गराएर खाद्यान्न पनि अरु देशको कोटामा राख्यो, पञ्चशील र असंलग्न परराष्ट्र नीतिलाई खायो र ४२ सालकै नारा ५७ सालसम्ममा जनताका न्यूनतम आवश्यकता पूरा गर्ने राज्यको संकल्पलाई धूलीसाफ गराएर राजनीतिकर्मीहरुको भुँडी मात्र भर्ने अनि बाँकी जनतालाई देशैबाट खेद्ने काम ग¥यो । अमेरिकासमेत अब वाक्क भइसकेकाले यो पंक्ति यार गर्दा अमेरिकामा अब व्यापारी कर्म र पर्यटकबाहेक भएर जाने कसैलाई प्रवेशाज्ञा नदिने घोषणा भएको छ ।

यहाँ सुशासनको रटान गरेर कुशासन अनि लोकतन्त्रको भारी बदनाम गराउने काम श्री ३ हरुले गरे, तैपनि कोही बोल्नुपर्नेमा मौन व्रत बसेका छन् भने कसैको हुंकार तीव्र रहेको छ । अर्काले भने हामी–तिमी नयाँकै नेतृत्व वा अभिभावक बन्न देऊ भन्दै लिसो लाउने काम हुँदै छ । तुलामा हालेर जोख्यो भने श्री ३ हरु उस्तै छन् । एक–अर्काकै कारण भाद्र्रको विस्फोट भएको थियो । नक्कली भुटानी शरणार्थी, बालमन्दिर, ललिता निवासदेखि सुनकाण्डहरुको पर्दाफास गर्नेहरुलाई झुटा मुद्दा लगाएर जिल्लैभरि तारेखमा राख्ने यिनका दिनहरु कसरी सुध्रिएलान् भन्न गाह्रो छ । देश सुकाएर, ऋणमा राखेर आफ्नो भुँडी फुलाउने नेताहरुको कुकर्मले गर्दा हाम्रो देशमा लोकतन्त्र बदनाम भएको छ । गाउँ वृद्धाश्रम बनेको छ ।

संयन्त्रहरु भ्रष्टाचारको अखडा बनेका छन् । अनावश्यक प्रदेश संरचनाहरु मन्त्री उत्पादन गर्ने कारखाना बनेका छन् । देशमा उद्योगधन्दाहरु ठप्प पारेर सार्वजनिक जमिनमा अतिक्रमण गर्नेहरुले अब बालेनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, रविहरुसँग पनि । सार्वजनिक सेवा प्रवाह कतै राम्रो भएन, आफ्नै कार्यकर्ताहरुले भरिए, राजदूत आफ्नै, वकिल–न्यायाधीशहरु आफ्नै, उपकुलपति सबैतिर भागवण्डामा आफ्नै, दलकै कोटामा संस्थानहरु, उद्यमी–व्यापारीहरुलाई दलको छाता ओढाएर रकम असुल्न माहिर भएका श्री ३ हरुको आँखा परेको क्षेत्रसम्म देशले सन्तोषको सास फेर्न नसक्ने भएको छ । उद्यमी–व्यापारीहरु यति धेरै निशानामा कहिल्यै परेका थिएनन् यसअघि । सबै आफन्त र चन्दा संकलन गर्दै दलहरुलाई दस्तुर बुझाइएकै कारण जेन्जीहरुले जेहाद छेडी असह्य वेदनाको साङ्लो तोडेका हुन् । एकै दिनको आन्दोलनले सबै भाग्नुपर्ने अवस्था सिर्जना गर्ने काम यही लोकतन्त्रले गरेको हो ।

बालेन, रवि, हर्क र हमालहरु जन्माउने तरमारा लोकतन्त्र नै हो हाम्रो । देश सय वर्षपछि धकेलिएको छ । श्री ३ हरुले लिएको उधारो बिमा बन्द हुने अवस्थामा छ । बिमाको भुक्तानी, दूध र उखुको भुक्तानी कतै सहज भएको छैन । उपचार खर्चबाट देश लुट्नेहरुले ५२ सालको चुनावी घोषणापत्रमा देशमा रासायनिक मल कारखाना खोल्ने भने, बीउबिजनसम्म दिन सकेनन् । वर्षामा बाटो नदेखिने हिउँदमा तुवाँलो र प्रदूषणको वर्षा गराउने मौसम प्रतिकूल गराइराख्ने पनि श्री ३ हरुकै लोकतन्त्र हो । २० बर्र्से थोत्रा गाडी परिवर्तन नगराउने, यातायातमा आफ्नै सिन्डिकेट, स्वास्थ्य र शिक्षामा दलकै सिन्डिकेट रहेको छ ।

यतिसम्म लाचार छायामा परेको नयाँ सरकार चुनाव गराउँदै छ । थाहा छ सबैलाई, आउने चुनावले पनि देशलाई निकास र विकास देला भन्न सकिने अवस्था छैन । तैपनि राज्यको खर्च बेपर्वाह गर्नुपरेकै छ, केवल श्री ३ हरुले भन्ने गरेको लोकतन्त्र बचाउनैका लागि । मूल कुरो युवा बेरोजगार, बजार बिचौलिया, महँगीको सन्त्रास, भन्सार नाकामै थुप्रो दस्तुरी, सामान धेरै महँगा, बैंकहरुमा तरलता अधिक, लगानी गर्न कोही नमान्ने, व्यापार गरेर छिटो धनी बन्ने प्रयास, चुनावका दिन एकमात्रै जनता चिन्ने दलहरुको रजाइँले देशमा धमिरा लागेको छ ।

पर्यावरण, वातावरण सफा छैन । पिउने पानीको सख्त अभाव, सधैँ फोहोरमा राजनीति, भुटानभन्दा महँगो बिजुली, किसानहरुको बेवास्ता, पर्यटकहरुको खर्च गराउने क्षमताको अभाव, आउने पर्यटकको खर्चभन्दा जाने नेपालीकोे विदेश खर्च बढी, करको अधिक मार, प्रसूति गृहदेखि आर्यघाटसम्म तिरेको करको व्यापक दुरुपयोग, धर्म बेचुवा, समानुपातिक कोटाको व्यापक दुरुपयोग, पारिवारिक र ठेक्कापट्टामा लोकतन्त्र सञ्चालन, असह्य पीडामा परेकी नेपाली धर्तीले उर्बर क्षमता नै गुमाइसकेकी छन् । सत्ता गठबन्धन गरी लामो समय बालुवाटार–सिंहदरबारको राजपाठ चलाएको तन्त्र अहिले पाखा लागेको अवस्था छ । भृकुटीमण्डपमा जोडबलले दोस्रो पुस्ता उदाए पनि झापा र गुण्डु पुस्तामा परिवर्तन नदेखिएको टिठ लाग्दो सपना देखिरहेका छन् आम नेपालीले । दलको दासत्व स्वीकारिरहेका कार्यकर्ताहरुको पनि आँखा खुल्नुपर्छ, लोकतन्त्रको बदनाम हुँदा देशको भारी पीडाबोध हुनुपर्छ । नैतिकता, इमानदारिता, निष्ठा, सिद्धान्त बिर्सिएर सत्ताको चरम भोकमा परेको लोकतन्त्रको अनुहारमा कालो दाग लागेको छ । यो मेटाउन फेरि धेरै समय लाग्नेछ ।