समाचार प्रभाव: राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेमाथि कारबाही गर्ने गृहको चेतावनी


काठमाडौं।

गृह मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानको प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम प्रयोग गर्न आग्रह गर्दे यसविपरीत झण्डाको दुरुपयोग भएको पाइए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नुपर्नेमा जोड दिँदै त्यस्तो चेतावनी दिएको हो । राष्ट्रिय झण्डाको दुरुपयोग हुने क्रम बढ्दा समेत सरकारले कुनै कदम चाल्न नसकेको भन्दै नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले आइतबार मुख्य समाचार प्रकाशित गरेको थियो । सो समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने माथि कडा कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।

त्यसै गरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लंघन भएमा सजायको व्यवस्थासमेत गरिएको समेत गृह मन्त्रालयले सम्झाएको छ ।

नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ । राष्ट्रिय झन्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झण्डा फहराउने विधि एवम् राष्ट्रिय झण्डाको प्रयोगमा निषेधसहितका प्रावधानहरू रहेका छन् ।

त्यसै गरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधिबमोजिम राष्ट्रिय झण्डाको प्रयोग भए÷नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले भनेको छ– ‘राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्नेगरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री–बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक–चित्र राख्न, फहराउने प्रकृतिको कार्यबाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ ।’