एम्बुलेन्स सेवा ज्यान र समयबीचको निर्णायक कडी


काठमाडौं। 

पूर्व–अस्पताल सेवा आपत्कालीन स्वास्थ्य प्रणालीको मेरुदण्ड हो । यस प्रणालीको केन्द्रमा एम्बुलेन्स सेवा रहन्छ, जसले बिरामीलाई सुरक्षित, समयमै र उपयुक्त स्वास्थ्य संस्थामा पु¥याएर ज्यान जोगाउने निर्णायक भूमिका खेल्दछ । विश्वका विकसित स्वास्थ्य प्रणालीहरूमा एम्बुलेन्स सेवा केवल सवारी साधन नभई, दक्ष जनशक्ति, आधुनिक उपकरण, एकीकृत डिस्प्याच र कडा नियमनमा आधारित जीवनरक्षक सेवा हो ।

नेपालमा भने एम्बुलेन्स सेवा अझै पनि खण्डित, असमान र धेरै हदसम्म अव्यवस्थित अवस्थामा सञ्चालन भइरहेको देखिन्छ । सरकारी, निजी, गैरसरकारी, अस्पताल र विभिन्न संघसंस्थाले आ–आफ्नै ढंगले एम्बुलेन्स सञ्चालन गर्दा सेवा गुणस्तर, शुल्क, उपकरण र जनशक्तिमा ठूलो अन्तर देखिएको छ । अधिकांश एम्बुलेन्सहरू आधारभूत जीवनरक्षक उपकरणविहीन, तालिम प्राप्त आपत्कालीन प्राविधिक बिना र प्रभावकारी समन्वय प्रणालीबाहिर रहेका छन् ।

विश्व अनुभवले देखाउँछ कि एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन तीन आधारभूत कुरा अनिवार्य हुन्छन, एकीकृत डिस्प्याच प्रणाली, मानकीकरण र कडा नियमन । युरोप, जापान र कोरियाजस्ता देशमा एकल आपत्कालीन नम्बरमार्फत सम्पूर्ण एम्बुलेन्स परिचालन हुन्छ । कुन क्षेत्रमा कुन स्तरको एम्बुलेन्स आवश्यक छ भन्ने स्पष्ट मापदण्ड हुन्छ । चालक र स्वास्थ्यकर्मी दुवै अनिवार्य प्रमाणित हुन्छन् ।

नेपालमा हाल सञ्चालित एम्बुलेन्सहरूको संख्या कागजी रूपमा पर्याप्त देखिए पनि, भौगोलिक अवस्था अनुसार वितरण असन्तुलित छ । काठमाडौं उपत्यका र सहरी क्षेत्रमा एम्बुलेन्सको घनत्व बढी छ भने पहाडी र हिमाली जिल्लामा अत्यन्त न्यून । दुर्गम क्षेत्रमा चार पाङ्ग्रे मात्र नभई मोटरसाइकल, बोट र हवाई एम्बुलेन्सको आवश्यकता भए पनि राज्यस्तरबाट व्यवस्थित योजना अझै देखिँदैन ।

यस अवस्थालाई सुधार्न नेपाल सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लाई कागजमै सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सबै एम्बुलेन्सलाई राष्ट्रिय दर्ता प्रणालीमा आबद्ध गर्दै, उपकरण, जनशक्ति, रंग, साइरन, शुल्क र सेवास्तर एकरूप बनाइनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा राष्ट्रिय आपत्कालीन डिस्प्याच केन्द्र स्थापना गरी संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट कार्यविभाजन आवश्यक छ । यातायात व्यवस्था विभाग, गृह मन्त्रालय र स्थानीय सरकारहरू नियमन र अनुगमनका जिम्मेवार निकाय हुनुपर्छन् ।

नागरिकको भूमिका पनि कम महत्वपूर्ण छैन । एम्बुलेन्सलाई बाटो खुलाइदिनु, दुरुपयोग नगर्नु, आपत्कालीन नम्बरको सही प्रयोग गर्नु र सेवा शुल्कबारे सचेत रहनु नागरिकको कर्तव्य हो । साथै, एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीप्रति सम्मानजनक व्यवहार सामाजिक संस्कारको हिस्सा बन्नुपर्छ ।

एम्बुलेन्स सेवा सुधार केवल स्वास्थ्य क्षेत्रको विषय होइन, यो राज्यको जीवन रक्षा क्षमताको परीक्षा हो । समयमै नीति, लगानी र नागरिक सचेतना जोड्न सकिएन भने सडकमा देखिने साइरन केवल आवाजमै सीमित हुनेछ । व्यवस्थित एम्बुलेन्स सेवा भनेकै सुरक्षित भविष्यतर्फको सुनिश्चित यात्रा हो ।

शनिवार मनमोहन मेमोरियल सामुदायिक अस्पताल सिनामंगलको आयोजनामा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) काठमाडौं जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपातकालीन तथा विपद् व्यवस्थापन प्रमुख डा. प्रकाश बुढाथोकीले पूर्व–अस्पताल सेवामा एम्बुलेन्स सेवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । आपत्कालीन अवस्थामा बिरामीलाई समयमै, सुरक्षित र उपयुक्त स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न एम्बुलेन्स सेवाले निर्णायक भूमिका खेल्ने उहाँको भनाइ थियो ।

डा. बुढाथोकीले एम्बुलेन्स सेवा केवल सवारी साधन नभई जीवनरक्षक सेवा भएको उल्लेख गर्दै यसमा दक्ष जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी समन्वय अनिवार्य हुने बताउनुभयो । उहाँले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिँदै उक्त निर्देशिकाले सेवा गुणस्तर सुधार, एकीकृत डिस्प्याच प्रणाली विकास, प्रविधिको प्रयोग, दक्ष जनशक्ति व्यवस्थापन तथा नियमनमार्फत एम्बुलेन्स सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयले देशभर आपत्कालीन स्वास्थ्य सेवा सुदृढ गर्ने प्राथमिकतासहित एम्बुलेन्स सेवालाई केन्द्रीय स्थानमा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सेवा विस्तार र सुधारका थप प्रयासहरू अघि बढाइने उहाँको भनाइ थियो ।

कार्यक्रममा एम्बुलेन्स चालकहरूको पेशागत मर्यादा, सेवा सुरक्षा, तालिम तथा सामाजिक सुरक्षाका विषयमा पनि छलफल गरिएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।