काठमाडौं ।
राष्ट्रिय स्वाभिमान र पहिचानको सर्वोच्च प्रतीक मानिने राष्ट्रिय झण्डाको दुरुपयोग पछिल्ला दिनमा खुलेआम बढ्दै गएको छ । आन्दोलन, चुनावी प्रचार, तोडफोड, आगजनी र विध्वंसका क्रममा समेत राष्ट्रिय झण्डा ओढ्ने, लतार्ने र अपमानजनक ढंगले प्रयोग गर्ने प्रवृत्ति बढ्दा पनि सरकार र सम्बन्धित निकाय मौन बसिरहेका छन् । यसले झण्डाको गरिमामात्र होइन, समग्र राष्ट्रकै सम्मानमा आँच पु¥याएको भन्दै नागरिक अगुवाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पछिल्ला केही आन्दोलन तथा राजनीतिक गतिविधिमा जोसुकैले पनि राष्ट्रिय झण्डालाई सामान्य कपडाजस्तै बनाएर ओढ्ने, जमिनमा लतार्ने, आगलागी तथा तोडफोडका क्रममा प्रयोग गर्ने दृश्य सार्वजनिक भइरहेका छन् । अझै गम्भीर कुरा के छ भने, यस्ता गतिविधि बारम्बार दोहोरिँदा पनि गृह मन्त्रालय, प्रशासन र सुरक्षा निकायले स्पष्ट पहल नगरेको आरोप लाग्दै आएको छ । सरकारको यही मौनताले झण्डा दुरुपयोग गर्ने प्रवृत्तिलाई थप प्रोत्साहन मिलिरहेको नागरिक समाजको बुझाइ छ ।
२४ भदौमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण सरकारी निकायमा भएको आगजनी र विध्वंसका क्रममा समेत विध्वंसकारीहरूले राष्ट्रिय झण्डा नै ओढेको देखिएको थियो । संविधानविद् भीमार्जुन आचार्य राष्ट्रिय झण्डाको प्रयोगमा गम्भीर विचलन आएको बताउनुहुन्छ ।
उहाँका अनुसार राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थालेको छ । ‘राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी सबै कार्य वर्जित हुन्’, संविधानविद् आचार्यले भन्नुभयो– ‘राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ होइन । यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ र सम्बन्धित निकायको गम्भीर ध्यान जानुपर्छ ।’
राजनीतिक विश्लेषकहरूको भनाइमा, राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने वा हिंसात्मक गतिविधिमा संलग्न हुनु केवल प्रतीकात्मक विषय होइन, यो प्रत्यक्ष रूपमा राष्ट्र र संविधानको अपमान हो । झण्डा राष्ट्रको सार्वभौमिकता, एकता र स्वाभिमानको प्रतीक भएकाले यसको मर्यादा तोडिनु भनेको राज्यको नैतिक धरातल कमजोर हुनु हो ।
राजनीतिक विश्लेषक तथा प्रशासनविद् श्यामप्रसाद मैनालीले झण्डाको प्रयोगप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । ‘यो कार्य गलत हो । भावनामा बगेर गरिने यस्ता कामले दीर्घकालीन रूपमा देशकै गरिमामा असर पार्छ । आन्दोलन, असहमति र अभिव्यक्तिका आफ्नै विधि र सीमा हुन्छन् । राष्ट्रिय झण्डालाई त्यसको आवरण बनाउनु कुनै पनि दृष्टिले स्वीकार्य हुँदैन’ –उहाँले भन्नुभयो ।
नेपालको संविधान र प्रचलित कानुनले राष्ट्रिय झण्डाको सम्मान र मर्यादालाई स्पष्ट रूपमा परिभाषित गरे पनि त्यसको कार्यान्वयन कमजोर देखिएको छ । जानकारहरूका अनुसार, सरकारले स्पष्ट निर्देशन, चेतावनी र आवश्यक परे कारबाही नगरेसम्म यस्तो प्रवृत्ति रोकिँदैन । राष्ट्रिय झण्डाको संरक्षण राज्यको दायित्व भएकाले सरकारको मौनता आफैँमा प्रश्नको घेरामा परेको उनीहरूको निष्कर्ष छ ।
राष्ट्रको पहिचान बोकेको झण्डा राजनीतिक स्वार्थ, उत्तेजना वा भीडको आवेगको साधन बन्नु लोकतन्त्रका लागि पनि खतरनाक संकेत भएको भन्दै नागरिक समाजले सरकारसँग तत्काल स्पष्ट नीति र कडाइका साथ कार्यान्वयनको माग गरेको छ ।

राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य वर्जित छन् । तत्काल बन्द हुनुप¥यो । राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ होइन । यसतर्फ सम्बद्ध निकायको ध्यान जाओस् ।
भीमार्जुन आचार्य
संविधानविद्
भावनामा बगेर गरिने यस्ता कामले दीर्घकालीन रूपमा देशकै गरिमामा असर पार्छ । आन्दोलन, असहमति र अभिव्यक्तिका आफ्नै विधि र सीमा हुन्छन् । राष्ट्रिय झण्डालाई त्यसको आवरण बनाउनु कुनै पनि दृष्टिले स्वीकार्य हुँदैन ।
श्यामप्रसाद मैनाली
विश्लेषक तथा प्रशासनवि
द्











प्रतिक्रिया