काठमाडौं ।
फागुनको पहिलो हप्ताभित्र सबै जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पु¥याइने निर्वाचन आयोगले जनाएको छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पु¥याइसक्ने जनाएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पु¥याइसक्ने बताउनुभयो । त्यस्तै, समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
बाँकी रहेका १४ वटा सामग्रीहरू माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उहाँको भनाइ छ । उहाँले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरा ल्याउने काम भएको पनि बताउनुभयो ।
यसैबीच निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरी र सुमित्रा बस्नेतको उम्मेदवारी रद्द गरी उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमाथि परेका उजुरीमाथि जाँचबुझ गरी निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने क्रममा उहाँहरूको उम्मेदवारी खारेज भएको हो ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो भने बस्नेतले काठमाडौं – १० बाट उम्मेदवारी दिनुभएको थियो । चौधरीविरुद्ध टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका व्यक्ति भन्दै उजुरी परेको थियो । बस्नेतविरुद्ध भने कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ । ६ जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चारवटा उजुरी नै खारेज भइसकेको छ ।
उम्मेदवारहरूमाथि बुधबार परेको दाबी विरोधमा बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ गरी आयोगले दुईको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । आयोगमा दर्ता भएका उजुरीउपर जाँचबुझ गरी उम्मेदवारी खारेज गरेको छ ।
भक्तपुरमा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारहरू राजीव खत्री र जानुका पाठक, सुनसरीमा निर्वाचन क्षेत्र नं २ का लालविक्रम थापा, रौतहटमा क्षेत्र नं १ का माधव नेपाल, कैलालीमा क्षेत्र नं १ का रेशम चौधरीविरूद्ध उजुरी परेको थियो । भ्रष्टाचार मुद्दा चलिरहेको, सर्वोच्च अदालतबाट दोषी ठहर भएको, सरकारी निकायबाट पेस्की लिएर फछ्र्योट नगरेको, नागरिकता विवरणलगायतमा कैफियत देखिएको आदि दाबीसहित सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलिको जग्गा भ्रष्टाचारको अभियुक्त बनाएर विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो ।
रास्वपाबाट भक्तपुर–२ मा उम्मेदवार बनेका खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपियाँ बेरुजु रकम बाँकी रहेको दाबी गरिएको छ । भक्तपुर–२ कै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार पाठकविरुद्ध पनि नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको दाबीसहित उजुरी परेको छ ।











प्रतिक्रिया