महिन्द्रा एक्सईभी नाइन–ईलाई आइकोटी ग्रिन कार अवार्ड २०२६


काठमाडौँ
महिन्द्रा एन्ड महिन्द्रा तथा नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक उपलब्धि सार्वजनिक गरेको छ । अल–इलेक्ट्रिक महिन्द्रा एक्सईभी नाइन–ईलाई भारतको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल सम्मान “इन्डिया कार अफ द इयर (आइकोटी) २०२६” अन्तर्गत ग्रिन कार अवार्ड २०२६ प्रदान गरिएको हो ।

आइकोटीद्वारा प्रदान गरिने तीन प्रमुख अवार्डमध्ये एक ग्रिन कार अवार्डले वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीसाधनलाई सम्मान गर्दछ । यस अवार्डले महिन्द्रा एक्सईभी नाइन–ईको इलेक्ट्रिक मोबिलिटीप्रतिको प्रतिबद्धता र समग्र दिगो दृष्टिकोणलाई विशेष रूपमा मान्यता दिएको छ। यो महिन्द्राको “बोर्न इलेक्ट्रिक” इङ्ग्लो प्लेटफर्मको सफलताको प्रमाण हो, जसलाई सुरुवातदेखि नै वातावरणमैत्री र उच्च प्रदर्शन दिने उद्देश्यले विकास गरिएको हो ।

यो प्रतिष्ठित सम्मानले एक्सईभी नाइन–ईलाई केवल एउटा सवारीसाधनको रूपमा मात्र नभई दक्षिण एसियाली बजार, विशेषगरी नेपालमा, दिगो लक्जरी र नवप्रवर्तनको नयाँ मानकको रूपमा स्थापित गरेको छ । आइकोटी निर्णायक समितिमा भारतका सम्मानित अटोमोबाइल पत्रकारहरू सहभागी थिए, जसले नवप्रवर्तन, प्रविधि, मूल्य र वातावरणीय जिम्मेवारीका आधारमा विजेताको छनोट गरेका थिए ।

बिएमडब्ल्यू, बिवाइडी, हुन्डाइ, किया, एमजी, टाटा र टेस्ला जस्ता प्रतिष्ठित इलेक्ट्रिक तथा वातावरणमैत्री सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै एक्सईभी नाइन–ईले ग्रिन कार श्रेणीमा सबैभन्दा उच्च अंक प्राप्त गर्न सफल भएको छ । यससँगै भारतको तीव्र रूपमा विस्तार हुँदै गएको इलेक्ट्रिक एसयुभी बजारमा यसले आफ्नो विशिष्ट पहिचान बनाएको छ ।

आइकोटी अवार्डले एक्सईभी नाइन–ईलाई अग्रणी बनाउने प्रविधिहरूलाई समेत उजागर गरेको छ । यसमा विशेष इलेक्ट्रिक प्लेटफर्ममा आधारित जिरो कम्प्रमाइज इलेक्ट्रिक आर्किटेक्चर समावेश छ, जसले जिरो टेलपाइप इमिसन सुनिश्चित गर्दै नेपालमा स्वच्छ शहरी तथा अन्तरसहर यात्राको मार्ग प्रशस्त गर्दछ । उच्च क्षमताको ब्याट्री प्रणाली, अत्यधिक दक्ष ड्राइभट्रेन र ऊर्जा पुनःप्राप्ति गर्ने रिजनरेटिभ ब्रेकिङ प्रविधिले अधिकतम रेञ्ज र न्यूनतम ऊर्जा खपत सुनिश्चित गर्दछ । साथै, केबिनमा पुनःप्रयोग गरिएका सामग्रीको प्रयोगले प्रिमियम आराम र वातावरणीय सचेतनाबीच सन्तुलन कायम गरेको छ ।

नेपाली बजारका लागि यो अवार्ड केवल सम्मान मात्र नभई विश्वस्तरीय गुणस्तर र प्रविधिको भरोसाको प्रतीक बनेको छ । अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठका अनुसार, “ग्रिन कार अवार्डले एक्सईभी नाइन–ईलाई नेपाली बजारमा प्रवेश गर्दा अतुलनीय विश्वसनीयता प्रदान गर्छ । यसले ग्राहकहरूलाई उनीहरू प्रिमियम इलेक्ट्रिक एसयुभी मात्र होइन, विश्वस्तरमा मान्यता प्राप्त अवार्ड–विजेता इन्जिनियरिङमा लगानी गरिरहेका छन् भन्ने सन्देश दिन्छ ।”

आइकोटी अवार्डलाई अटोमोबाइल उद्योगकै सबैभन्दा विश्वसनीय र सम्मानित पुरस्कारमध्ये एक मानिन्छ, जसलाई प्रायः “भारतीय अटोमोबाइलको ओस्कार” भनेर पनि चिनिन्छ । प्रदर्शन, डिजाइन, आराम, सुरक्षा, मूल्य र स्थानीय ड्राइभिङ अवस्थासँगको उपयुक्तताका आधारमा गरिने विस्तृत मूल्याङ्कनले एक्सईभी नाइन–ईको सर्वाङ्गीण क्षमताको स्पष्ट मान्यता दिएको छ ।