रविले बुझाए १ करोड धरौटी

940
Shares

वीरगञ्ज ।

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा १ करोड रुपियाँ धरौटी माग्ने आदेश गरेको थियो । सोहीबमोजिम लामिछाने १ करोड रुपियाँ धरौटी बझाएर साँझ चितवन पुग्नुभएको छ ।

मंगलवार न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लामिछानेसँग १ करोड रुपियाँ धरौटी माग्ने निर्णय गरेको हो । सरकारी वकिलको कार्यालय पर्साले गत जेठ ३० गते लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो । मुद्दामा सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपियाँ अपचलन भएको दाबी गर्दै सोही बराबरको बिगो माग गरिएको छ ।

यसअघि मुद्दा दर्ता भए पनि लामिछाने अदालतमा उपस्थित हुनुभएको थिएन । मंगलवार पहिलो पटक अदालतमा हाजिर भएपछि प्रारम्भिक सुनुवाइ सम्पन्न गरी धरौटी तोकिएको हो । चुनावी माहोल चलिरहेका बेला अदालतको आदेशले राजनीतिक तथा कानुनी वृत्तमा व्यापक चासो बढाएको छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले तत्कालीन समयमा नै अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो । कुल १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपियाँ बिगो मागदाबी हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । जसमा ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपियाँ बिगो मागदाबी हुनुपर्ने राय प्रहरीले दिएको छ ।