देशभरबाट ३,४२८ जना चुनावी मैदानमा

नयाँ अनुहारलाई प्राथमिकता

282
Shares

–मनोनयन दर्तासँगै चुनावी जोडघटाउ र जित–हारको अड्कलबाजी सुरु

काठमाडौं ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि देशभरबाट ३ हजार ४ सय २८ जनाको उम्मेदवारी परेसँगै चुनावी सरगर्मी चुलिएको छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र १ सय ६५ वटा निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी परेकामा पुरुष ३ हजार ३७ र ३ सय ९१ रहेका छन् । आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको अवधि तोकेको थियो । सो अवधिमा कार्यालयमा प्रवेश गरेकालाई उम्मेदवारी दर्ता गर्न दिइएको थियो ।

एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको मनोनयनपत्रसहित प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गराइएको थियो । प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सासमेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपियाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गरेका थिए । तर, महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट गरिएको थियो ।

भदौ २३ र २४ को जेन–जी विद्रोहपछि राजनीतिक दलहरू दर्ता गर्ने क्रम बढेसँगै उम्मेदवारी दिनेको संख्या पनि बढेको पाइएको छ । दलहरूले यस पटक उम्मेदवारमा विगतको तुलनामा नयाँ अनुहारलाई प्राथमिकता दिएको पाइएको छ । जेन–जी विद्रोहको पृष्ठभूमिमा भएको निर्वाचनले गर्दा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र नभई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीलगायतका दलहरुले नयाँ अनुहारलाई प्राथमिकता दिएको आम बुझाइ रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाहरूले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन नपाउने प्रावधान रहेको छ । काठमाडौं उपत्यकाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई मात्र भित्र छिर्न दिइएको थियो । आयोगले उम्मेदवार मनोनयन दर्ताको दिन सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको थियो । उम्मेदवार मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्वक भएको निर्वाचन आयोगले जनाएको छ ।

हिजो नै साँझ आयोगले उम्मेदवारीको सूची प्रकाशन गरेको थियो । आयोगका अनुसार माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न दिइने छ ।

उम्मेदवारको मनोनयनको प्रक्रियासँगै फागुन २१ गते हुने निर्वाचनको राजनीतिक माहौल बनाउने क्रम सुरु भएको छ । शान्तिपूर्ण वातावरणकाबीच सम्पन्न उम्मेदवारको मनोनयनले निर्वाचन सुनिश्चित भएको सन्देश दिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । समानुपातिकतर्फको बन्दसूची यसअघि नै सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयन दर्तासँगै चुनावी जोडघटाउ, सम्भावित गठबन्धन र जित–हारको अड्कलबाजी सुरु भएको छ । अब दल र उम्मेदवारहरू मतदाता केन्द्रित गतिविधिमा सक्रिय हुँदै जाँदा चुनावी माहौल थप तातिने देखिन्छ ।