झापामा अध्यक्ष ओलीले जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना निरीक्षण गर्ने


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवारी दर्ता अघि जेनजी आन्दोलनमा जलाइएका सरकारी र व्यक्तिगत संरचनाहरू निरीक्षण गर्ने भएका छन्।

पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतम का अनुसार, भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड गरेका संरचनाहरू अध्यक्ष ओलीले हेर्ने र पीडितहरूसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ।

दमक नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिएअनुसार, आज बिहान १० बजेदेखि १२ बजेसम्म अध्यक्ष ओलीले दमक स्थित क्षतिग्रस्त संरचना निरीक्षण गर्नेछन्। निरीक्षण हुने स्थानमा इलाका प्रहरी कार्यालय, दमक नगरपालिका, मेयर राम थापाको निवास, नेपाली कांग्रेस र एमालेका कार्यालयहरू तथा अन्य निजी निवासहरू समावेश छन्।

अध्यक्ष ओलीले आजै १ बजे झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र जलाइएका अन्य संरचनाहरूको निरीक्षण अर्को दिन गर्ने योजना छ। जेनजी आन्दोलनका क्रममा झापा ५ क्षेत्रका करिब २५ वटा सरकारी र निजी संरचना क्षतिग्रस्त भएका थिए।

गौतमका अनुसार अध्यक्ष ओलीले अन्य पालिका जस्तै कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा पनि क्षतिग्रस्त संरचना निरीक्षण गर्नेछन्।