काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेकाले निर्वाचनमा सहभागी हुन नयाँ दल दर्ता गर्न नपाइने स्पष्ट पारेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई आयोगले शुक्रवार राति आधिकारिक मान्यता दिएसँगै आयोगले अब कुनै पनि पक्षले नयाँ दलका रूपमा दर्ता गरेर निर्वाचनमा भाग लिन नसक्ने जनाएको हो ।
आयोगले फागुन २१ गते हुने प्रत्यक्षतर्फ उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा नयाँ दल दर्ता वा निर्वाचन प्रक्रियामा सामेल गराउन कानुनी र प्राविधिक रूपमा सम्भव नहुने तर्क अघि सारेको छ । नेपाली कांग्रेसले समानुपातिक सूची बुझाइसकेको र मनोनयन प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेकाले अदालतबाट अन्यथा आदेश नआएसम्म दल दर्ताको विकल्प खुला नरहने आयोगको भनाइ छ ।
आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपछि गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूह नेपाली कांग्रेसको आधिकारिक पक्ष बनेको छ ।
आयुक्त डा. जानकी तुलाधरको फरक मतसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशम्सेर जबराले विशेष महाधिवेशनलाई आधिकारिता प्रदान गर्ने दल दर्ता अद्यावधिक गर्ने निर्णय गरेको थियो । ४० प्रतिशतभन्दा बढी प्रतिनिधिले डाकेपछि त्यो महाधिवेशन बाध्यकारी हुने भन्दै निर्वाचन आयोगले कांग्रेसको सर्वोच्च निकायबाट निर्णय भएको विवरणलाई अद्यावधिक गर्ने निर्णय लिएको हो । यसबाट निर्वाचन कार्यतालिकामा कुनै असर नपर्ने आयुक्तहरू बताउँछन् ।
आयोगको सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ । तर, सोमबार अर्को सार्वजनिक बिदा परेकाले मंगलवार मात्रै देउवा पक्षको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने देखिन्छ । माघ ६ गते अर्थात आगामी मंगलवार देशभर प्रत्यक्षतर्फको मनोनयनको दिन समेत हो । त्यो दिन बिहान १० बजेदेखि नै उम्मेदवारहरूको मनोनयन सुरु हुनेछ ।
देउवा पक्षले पेस गरेको रिट निवेदन छिटोछरितो रूपमा अघि बढेमा मंगलवार विहान ११ बजेदेखि सुनुवाइ हुनसक्ने देखिन्छ । मनोनयन र देउवा पक्षको रिट निवेदनको सुनुवाइ एकसाथ अघि बढ्ने सम्भावना पनि छ ।
अहिलेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने देउवा पक्षका नेताहरूलाई स्वतन्त्र उम्मेदवारी मात्रै विकल्प हो । निर्वाचन तालिका नसर्ने अनि स्वतन्त्र उम्मेदवारी दिने अवस्था बनेन भने कांग्रेसबाट टिकट नपाउने देउवा पक्षका नेताहरू यो पटक प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।











प्रतिक्रिया