डब्लुएचओको कार्यकारी बोर्ड बैठकमा भाग लिन स्वास्थ्य सचिव डा.देवकोटा जेनेभा जाँदै 


काठमाडौं। 

सरकारले आगामी माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को १५९ औँ ‘सिजन अफ द एक्जुकेटिभ बोर्ड’ बैठकमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पुस २८ गतेका मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सचिव देवकोटाको जेनेभा भ्रमणको विषय पनि स्वीकृत भएको जानकारी गराए ।  तर, सचिवको भ्रमणको मुख्य उद्देश्य, सहभागिताबाट नेपालले के पाउनेछ, खर्च कसले व्यहोर्नेछ र विगतका बैठकबाट के उपलब्धि भए भन्ने विषयमा भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

डब्लुएचओको एक्जुकेटिभ बोर्ड विश्व स्वास्थ्य नीतिको सबैभन्दा प्रभावशाली निर्णय–तह हो । यस बोर्डले संगठनको नीति, कार्यक्रम, बजेट तथा विश्व स्वास्थ्य सभामा प्रस्तुत हुने एजेन्डा तय गर्छ । जनवरीमा बस्ने बोर्ड बैठकले आगामी विश्व स्वास्थ्य सम्मेलनका लागि नीति र प्रस्तावहरू अन्तिम रूप दिन्छ ।
१५९ औँ सिजनमा सार्वभौमिक स्वास्थ्य सेवा (डब्लुएचओ), महामारी तयारी, औषधि तथा खोप पहुँच, स्वास्थ्य जनशक्ति संकट, जलवायु परिवर्तनको स्वास्थ्य प्रभाव लगायत विषयहरू प्रमुख एजेन्डामा रहने अपेक्षा गरिएको छ ।

नेपाल हाल डब्लुएचओ एक्जुकेटिभ बोर्डको सदस्य राष्ट्र हो । यस हैसियतले बैठकमा भाग लिनु नेपालका लागि औपचारिक दायित्व मात्र होइन, वेशिक स्वास्थ्य नीतिमा आफ्नो एजेन्डा राख्ने अवसर पनि हो । तर विगतमा यस्ता अन्तर्राष्ट्रिय बैठकमा नेपालको सहभागिता प्रायः उपस्थिति केन्द्रित हुने गरेको आलोचना हुँदै आएको छ । स्वास्थ्य नीति विज्ञहरूका अनुसार नेपालले यस्ता बैठकमा स्वास्थ्य बिमा, दुर्गम क्षेत्रमा सेवा पहुँच, औषधि मूल्य नियन्त्रण, स्वास्थ्य वित्तीय संकट जस्ता आफ्ना ज्वलन्त मुद्दा बलियो रूपमा उठाउन सकेको उदाहरण कम छन्। । 

सामान्यतया डब्लुएचओले बैठक स्थल, प्राविधिक सामग्री र समन्वय सहयोग उपलब्ध गराए पनि यात्रा, आवास र दैनिक भत्ताजस्ता खर्च सदस्य राष्ट्रले नै बेहोर्ने गर्छन्। र स्वास्थ्य सचिवको हकमा पनि स्वास्थ्य मन्त्रालयले नै खर्च गर्ने स्रोतको दाबी छ । यस्तो अवस्थामा स्वास्थ्य बिमा, अस्पताल भुक्तानी र औषधि अभाव जस्ता समस्या भोगिरहेको मन्त्रालयले अन्तर्राष्ट्रिय भ्रमणलाई कति रणनीतिक रूपमा प्रयोग गर्छ भन्ने प्रश्न उठेको छ । नेपालले यसअघि पनि डब्लुएचओका एक्जुकेटिभ बोर्ड तथा विश्व स्वास्थ्य सम्मेलन बैठकमा सहभागिता जनाउँदै आएको छ । तर ती सहभागिताबाट कुन ठोस नीति, बजेट सहयोग वा प्रविधिगत फाइदा नेपालले हासिल र्गयो भन्नेबारे मन्त्रालयले स्पष्ट सार्वजनिक प्रतिवेदन ल्याएको देखिँदैन ।

स्वास्थ्य क्षेत्रका जानकारहरू भन्छन, “बैठकमा जानु उपलब्धि होइन, त्यहाँ के एजेन्डा राखियो र त्यसको फलस्वरूप के परिवर्तन आयो भन्ने महत्वपूर्ण हो ।” यदि बैठकमा नेपालले प्रभावकारी रूपमा आवाज उठाउन सके खोप, औषधि, महामारी तयारी कोष, स्वास्थ्य जनशक्ति तालिम र प्राविधिक सहयोगमा दीर्घकालीन लाभ लिन सक्ने सम्भावना छ । तर त्यसका लागि सहभागिता केवल औपचारिक नभई तयारीसहितको कूटनीतिक हस्तक्षेप हुनुपर्ने विज्ञहरूको भनाइ छ । स्वास्थ्य सचिवको यो भ्रमणलाई लिएर सरकारमाथि दुईवटा अपेक्षा छन।  पहिलो, बैठकमा नेपालका वास्तविक स्वास्थ्य संकट स्पष्ट रूपमा उठाइनु । दोस्रो, बैठकपछि के उपलब्धि भयो भन्ने विषयमा पारदर्शी रुपमा सार्वजनिक विवरण दिनु । नत्र, स्वास्थ्य क्षेत्रमा गहिरिँदो संकटबीच अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता प्रतीकात्मक भ्रमणमै सीमित हुने खतरा कायमै रहने देखिन्छ । 

स्वास्थ्य सचिव डा.विकास देवकोटा नेपालका अनुभवी सार्वजनिक स्वास्थ्य विज्ञ हुन्। स्वास्थ्य नीति निर्माण, प्रणाली सुधार र सेवा प्रवाह व्यवस्थापनमा उनको गहिरो ज्ञान र दीर्घ अनुभव छ । विगतमा उनले स्वास्थ्य बिमा, मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम तथा महामारी व्यवस्थापनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वैदेशिक दातृ निकायहरू—डब्लुएचओ, विश्व बैंक, युनिसेफ लगायतसँग प्रभावकारी सहकार्यको अनुभव संकलन गरेका छन्  । यही पृष्ठभूमिका कारण जेनेभामा हुने डब्लुएचओ कार्यकारी बोर्ड बैठकमा उनले नेपालको स्वास्थ्य प्राथमिकता स्पष्ट रूपमा राख्दै नीति, स्रोत र प्रविधिगत सहयोग जुटाउन सक्रिय र सार्थक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।