इरानमा इस्लामिक शासनविरुद्धको आन्दोलन हिंसात्मक बन्दै, तेहरानका अस्पतालमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको दाबी


काठमाडौं ।

इरानमा इस्लामिक शासनविरुद्ध जारी विरोध प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ। सरकारी निर्देशनमा सुरक्षा बलले विभिन्न स्थानमा गोली चलाएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।

नाम नछाप्ने सर्तमा तेहरानका एक डाक्टरले टाइम पत्रिकालाई दिएको जानकारीअनुसार राजधानी तेहरानका छ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ जना प्रदर्शनकारीको मृत्यु रेकर्ड गरिएको छ। मृतकमध्ये अधिकांश गोली लागेर मारिएको बताइएको छ। यद्यपि, टाइम पत्रिकाले यी तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।

यदि यो संख्या सही ठहरिएमा, इरानमा सरकारविरुद्ध उठेको आन्दोलनलाई दबाउन गरिएको राज्यस्तरीय दमनको गम्भीरता स्पष्ट हुन्छ। विरोध प्रदर्शन सुरु भएयता इरानी सरकारले देशभर इन्टरनेट र टेलिफोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिसकेको छ, जसका कारण वास्तविक अवस्था बाहिर आउन कठिन बनेको छ।

आर्थिक संकट र बढ्दो बेरोजगारीको विरोधमा डिसेम्बर २८ बाट सुरु भएको आन्दोलन अहिले इरानका सबै ३१ प्रान्तमा फैलिएको छ। आन्दोलनकारीहरूले इस्लामिक शासनको अन्त्यको माग गर्दै “स्वतन्त्रता” र “तानाशाह मुर्दावाद” जस्ता नारा लगाइरहेका छन्।

ती डाक्टरका अनुसार, “विरोध तीव्र बन्दै जाँदा सुरक्षा बलले धेरै क्षेत्रमा प्रदर्शनकारीमाथि सिधै गोली चलायो। शुक्रबार विभिन्न अस्पतालबाट शव हटाइयो। मृतकमध्ये धेरैजसो युवा छन्। उत्तरी तेहरानको एक प्रहरी चौकी बाहिर मेसिनगनबाट गोली चल्दा धेरै प्रदर्शनकारी घटनास्थलमै मारिए। सो घटनामा मात्र कम्तीमा ३० जनालाई गोली लागेको थियो।”

अधिकांश र्‍यालीहरू शान्तिपूर्ण रहे पनि केही स्थानमा सरकारी भवनमाथि तोडफोड भएको रिपोर्ट आएको छ। यसैक्रममा तेहरानस्थित अल–रसुल मस्जिदमा आगजनी गरिएको घटनाले तनाव झनै चर्किएको छ।

इरानमा जारी अवस्थाबारे आधिकारिक सरकारी विवरण भने सीमित मात्र सार्वजनिक गरिएको छ, जसले अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता पैदा गराएको छ।