खोटाङ।
खोटाङको दिक्तेलबजारमा जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलनको तय गरिएको छ । गत वैशाख–१ र २ गते रेडपाण्डा तथा थार महोत्सव गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आगामी वैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन गर्ने मिति तय भएको हो ।
वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्न र पर्यापर्यटन प्रबद्र्धनमा योगदान पु¥याउने उद्देश्यले उक्त सम्मेलनको तयारी गरिएको जनाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभुवन विश्व विद्यालयको आयोजनामा उक्त सम्मेलन हुन लागेको नगरपालिकाको प्रमुख तीर्थराज भट्टराईले बताए । नगरप्रमुख भट्टराईको संयोजकत्वमा मूल आयोजक समिति र वडा नम्बर १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समिति गठन गरी सम्मेलनको तयारी गरिने भट्टराईले बताए ।
सम्मेलनमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने सीप र प्राकृतिक सामग्रीको प्रदर्शनी गरिने भट्टराईको भनाई छ । अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न प्रदेशका विश्वविद्यालय, वैज्ञानिक, विषयविज्ञ तथा शैक्षिक संस्थाहरूले पनि सहभागिता जनाउने बताइएको छ ।











प्रतिक्रिया