हेटौंडा ।
हेटौंडा उपमहानगरपालिकाअन्तर्गत पर्ने भए पनि अत्यन्त बिकट क्षेत्रका रुपमा परिचित हेटौंडा–१९, लेखपानीस्थित जीवनज्योति आधारभुत विद्यालयमा अध्ययनरत आर्थिकरुपमा कमजोर अवस्थाका ४५ जना विद्यार्थीलाई जुत्ता, मोजा, स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
अप्टिमिस्टिक इन्टरनेसनल एसिया डिष्ट्रिकअन्तर्गत रहेको द हेटौंडा अप्टिमिष्टिक क्लबको आयोजनामा सम्पन्न कार्यक्रम क्लब अध्यक्ष जनक सुबेदीको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा क्लब पूर्वअध्यक्ष ओमप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष उज्ज्वल शर्माभण्डारी, क्लब वरिष्ठ उपाध्यक्ष उत्तमप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरुले नगरपालिकाभित्र भए पनि पछाडि परेको बस्तीका बालबालिकाको शैक्षिक पहुँच सुधार गर्न यस्ता सहयोगात्मक कार्यक्रम अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे । सामग्री वितरणले विद्यार्थीहरुको विद्यालयप्रतिको आकर्षण बढ्नुका साथै पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो ।
अप्टिमिस्टिक इन्टरनेसनलको मूल उद्धेश्य ब्रिङ्गिङ आउट द वेष्ट अर्थात् बालबालिकामा रहेको क्षमतालाई उजागर गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउनु छ । सोही उद्धेश्यअनुरुप द हेटौंडा अप्टिमिष्टिक क्लबले सामाजिक उत्तरदायित्ववहन गर्दै शिक्षा, स्वास्थ्य तथा बालकल्याणका क्षेत्रमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देशप्रवाह गर्नुका साथै आर्थिकरुपमा विपन्न विद्यार्थीहरुको अनुहारमा मुस्कान ल्याएको सहभागीहरुले बताएका छन् ।











प्रतिक्रिया