क्यान्सर उपचारमा अझै प्रभावकारी भएन सरकारी सहुलियत

सरकारी अस्पताललाई हेरेर नीति बनाउँदा निजी अस्पतालहरू मारमा

1.41k
Shares

काठमाडौं ।

नेपालमा क्यान्सरको आधुनिक उपचार सेवा विस्तार भए पनि सर्वसाधारणको पहुँच र सरकारी सहुलियत अझै प्रभावकारी हुन नसकेको भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरद्वारा आयोजित एक सचेतना कार्यक्रमका सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

५५ औं क्यान्सर सर्भाइकल दिवसका अवसरमा नेपाल क्यान्सर अस्पतल एन्ड रिसर्च सेन्टरले बिहीबार चिकित्सक, क्यान्सर विजेता, विशेषज्ञहरू,सञ्चारकर्मीलगायतको उपस्थितिमा आयोजना गरेको बृहत् छलफल कार्यक्रममा नीति बनाउनेले सरकारले सबै सुविधा दिने सरकारी निकायलाई हेरेर नीति बनाउँदा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरू मारमा परेको र कतिपय निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू बन्द हुने अवस्थामा पुगेकोमा सरकारको ध्यानाकर्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले सरकारले लागू गरेको स्वास्थ्य बिमा क्यान्सरका बिरामीका लागिमात्र हैन क्यान्सर उपचारका लागि स्थापना गरेको अस्पतालका लागिसमेत निल्नु न ओकल्नुको अवस्थामा रहेको बताउनुभयो ।

सरकारको सहयोगबिना नै सबै व्यवस्था आफैंले गरेर स्थापना गरेको क्यान्सर अस्पतालले क्यान्सरका बिरामीको उपचार गरेबापत पाउनुपर्ने स्वास्थ्य बिमाको ११ करोड रुपियाँ लिन बाँकी रहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘क्यान्सरको उपचार स्वास्थ्य बिमाका माध्यमबाट बिरामीले निःशुल्क पाउनुपर्छ । यसतर्फ सरकार र नेताहरूको ध्यान पुग्नुपर्नेमा उल्टै उनीहरूका कार्यकर्ता या मतदाता भए भने नेता र मन्त्रालयबाट निःशुल्क उपचार गर्दिनुस् भनेर फोन गर्नुहुन्छ । यस्तो अवस्थामा अस्पतालले कसरी निःशुल्क उपचार गर्ने ?’

डा. श्रेष्ठले क्यान्सरका सबै बिरामीले स्वास्थ्य बिमामार्फत उपचार पाउनुपर्नेमा जोड दिनुभयो । नेपालमै हुने उपचारका लागि खर्च गर्न सक्ने र नेताहरूले विदेशमा गएर विशेष गरि क्यान्सर उपचारका लागि भारतमा गएर वर्षेनी अरबौं खर्च गरिरहेका जिकिर गर्दै उहाँले भन्नुभयो– ‘यसले ल्याएको दुष्प्रचारका कारण नेपालमै हुने उपचारका लागि बिरामीले भारतमा पुगेपछि पुनः नेपालमै उपचार हुन्छ भनेर फर्किनुपर्ने अवस्था छ । यो अवस्था सिर्जना गर्ने नेता र सरकार कहिले जवाफदेही हुन्छ र नेपाली नागरिकले समयमै आफ्नै देशमा क्यान्सर उपचार पाउँछन् ?’

कार्यक्रममा डा. श्रेष्ठले पछिल्लो समय चर्चामा रहेको रोबोटिक सर्जरीका बारेमा प्रष्ट पार्नुभयो । उहाँका अनुसार रोबोटिक सर्जरीले घाउ सानो पार्ने र छिटो निको पार्ने भए पनि यो खर्चिलो छ । ‘अपरेसन गर्ने अन्ततः चिकित्सकको हातले नै हो’, उहाँले भन्नुभयो, ‘भारतजस्ता देशमा रोबोटिक सर्जरीको प्रयोग बढे पनि दक्षताको कमीले असफलताको दर पनि देखिन थालेको छ । त्यसैले प्रविधिभन्दा पनि विशेषज्ञको सीप महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. अनु बज्राचार्यले स्तन र पाठेघरको मुखको क्यान्सर रोकथामका उपायबारे जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरबाट बच्न ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप प्रभावकारी हुने र प्रत्येक तीन वर्षमा ‘प्याप स्मेयर’ परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो । हाल नेपाल राष्ट्रिय खोपका रूपमा सुरु गरिएको एचपीभी खोप कार्यक्रमलाई किशोरीमा मात्र नभई किशोरमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले क्यान्सर बिरामीलाई सरकारले दिँदै आएको १ लाख रुपियाँको सहयोग अपर्याप्त रहेको बताउँदै यो राहत वितरण प्रणाली ‘अन्यायपूर्ण’ रहेको र पहुँचवाला नेताहरूले बढी सुविधा पाउने गरेकोमा आलोचना गरे । चिकित्सक तथा क्यान्सर विजेताहरूले क्यान्सर उपचारका लागि छुट्टै र बलियो स्वास्थ्य बिमा प्रणाली आवश्यक रहेकोमा जोड दिए ।

उपचारपछि पनि बिरामीले आफ्नो खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । विशेषगरी स्तन क्यान्सर र पाठेघरको क्यान्सरलगायतका क्यान्सरको शल्यक्रिया गरेका महिलाहरूले गहु्रँगो सामान उठाउन नहुने र शरीरको मांसपेशीको अवस्था हेरेरमात्र सक्रिय हुनुपर्ने बताइएको छ ।

नेपालमा एचपीपी डीएनए खोपको मात्रा कम भएकाले बढी प्रभावित किशोरीमा मात्र अनिवार्य गरिएको र ४ वटा जिल्लामा किशोरमा पनि परीक्षणका रूपमा सुरु भएको जानकारी कार्यक्रममा दिइएको थियो ।