“जुँगे काजी रम” सार्वजनिक


काठमााडौँ
१८औँ शताब्दीको सामाजिक, राजनीतिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित ऐतिहासिक कथालाई आधुनिक ब्रान्डिङमार्फत पुनर्जीवित गर्दै “जुँगे काजी रम” सार्वजनिक गरिएको छ । पुस्तौँदेखि मौखिक रूपमा बाँच्दै आएको एक काजीको संघर्ष, कर्तव्यबोध र आत्मसम्मानको कथालाई केन्द्रमा राखेर तयार गरिएको यो रमले नेपाली इतिहासलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

कथाको सुरुवात जहाँनिया शासनको कठोर समयबाट हुन्छ, जहाँ बोली र व्यवहारसम्ममा नियन्त्रण थियो । त्यही शासनका सेवक रहेका एक काजी अन्ततः अत्याचारको पक्षमा उभिन नसकी विवेकको आवाज सुन्छन् र सत्ता सेवाबाट अलग हुने निर्णय लिन्छन् । त्यसपछि उनको जीवन संघर्ष, निराशा र आत्मखोजको कठिन यात्रामा प्रवेश गर्छ ।

राणाशासनको प्रभाव गहिरिँदै जाँदा विदेशी प्रभाव गाउँसम्म फैलिन थाल्छ । यसले स्थानीय पहिचान र गौरवमाथि संकट पैदा गरेको महसुस काजीले गर्छन्। त्यसको प्रतिरोधस्वरूप उनले रैथाने ज्ञान र स्थानीय स्रोतको प्रयोग गर्दै स्वदेशी उत्पादनको खोजी सुरु गर्छन् । लामो समयको प्रयास, असफलता र अभ्यासपछि उनी एउटा मौलिक मिश्रणसम्म पुग्छन्, जुन उनको आत्मसम्मानको प्रतीक बन्छ ।

तर सामन्ती संरचनाले उनको उपलब्धिलाई स्वीकार्न सकेन। षड्यन्त्र र दमनका कारण काजीको संघर्ष आगो र धुवाँसँगै समाप्त हुन्छ, र उनको विरासत इतिहासको पानामा हराउँदै जान्छ । समयसँगै पुस्ता फेरिए पनि कथा पूर्ण रूपमा मेटिँदैन ।

आज त्यही इतिहासलाई नयाँ पुस्ताले पुनर्जीवित गर्दै “जुँगे काजी रम” सार्वजनिक गरेका हुन् । यो केवल एक ब्रान्ड मात्र नभई नेपाली इतिहास, अटलता र कर्तव्यको कथालाई सम्झाउने सांस्कृतिक प्रतीकका रूपमा प्रस्तुत गरिएको बताइएको छ ।