आजकाल देशमा केही भएन, केही हुन सक्तैन भन्ने भाष्य सृजना गरिँदै छ । यो भाष्य समाजको लागि घातक छ । पछिल्लो समयमा नेपाली युवा अत्यन्तै नैराश्यताबाट गुज्रँदै छन् । युुवाहरु सामाजिक सञ्जालमा नैराश्यता मिश्रित स्टाटस लेखिरहन्छन् । भेटघाट, अध्ययन, छलफल, चिया गफ, हरेक ठाउँमा निराशायुक्त कुराले स्थान पाइरहेको छ । यही नैराश्यताका कारण कतिपय युवा विभिन्न मानसिक समस्यामा परेका छन् ।
कतिपय विदेशिइरहेका छन् । सरकारी तथ्यांकअनुसार एकदिनमा १५ सयभन्दा बढी युवा रोजगारी तथा अध्ययनका लागि भनेर विदेशिएका छन् । एक तथ्यांकअनुसार झन्डै २ लाख ५० हजार युवा लागूऔषध दुव्र्यसनको कुलतमा फसेका छन् । नेपाल प्रहरीका अनुसार सामाजिक अपराधमा युवाको संलग्नता ८० प्रतिशभन्दा बढी छ । यसरी नेपाली समाजलाई बर्बादको दिशातर्फ धकेल्ने ‘केही भएन, केही हुन सक्तैन’ भन्ने भाष्य कसले सृजना गर्दै छ ? के यो सत्य हो ? के यो व्यक्तिगत सवाल हो ? अवश्य होइन । बरु योे डर लाग्दो सामाजिक रोग हो । यो सामाजिक रोगका विरुद्ध समाजका सबै पक्ष लाग्नु आजको सामाजिक दायित्व हो । सोही सामाजिक दायित्व निर्वाह गर्ने प्रयासस्वरुप यो लेख लेखिएको छ ।
समाजशास्त्रका संस्थापकमध्येका एक इमानुयल दुर्वाइमले एउटा पुस्तक लेखेका छन्– ‘सुसाइड’ अर्थात् आत्महत्या । यस पुस्तकमा उनले कुनै पनि व्यक्तिले गर्ने आत्महत्या व्यक्तिगत वा मनोविज्ञानका कारणले नभई त्यसको सामाजिक कारण हुने उल्लेख गरेका छन् । करिब ६ सय पेजको सो पुस्तकको निष्कर्ष छ कि व्यक्तिको समाजसँगको एकीकरण कस्तो छ भन्ने कुरासँग आत्महत्या जोडिएको छ । यदि व्यक्तिको सामाजिक एकीकरण बलियो छ भने जस्तासुकै समस्यामा परेका व्यक्ति पनि आत्मविश्वासका साथ बाँच्न सक्छन् भने एकीकरण कमजोर रहेका व्यक्तिले आत्महत्या गर्छन् । युवापुस्तामा बढ्दै गएको नैराश्यताका कारणहरु खोजी गर्ने हो भने समाजशास्त्रीय दृष्टिकोेणबाट हाम्रो राजनीतिक, सामाजिक, आर्थिक अवस्थाको व्याख्या एवं विश्लेषण गर्नुपर्ने हुन्छ ।
हाम्रो देशमा जब २०७२ आश्विन ३ गते सार्वभौम जनताबाट निर्वाचित संविधानसभाले नयाँ संविधान जारी गरेपश्चात् अब संक्रमणकालको अन्त्य भयो, देशले अब राजनीतिक स्थिरतामार्फत आर्थिक समृद्धि हासिल गर्छ भन्ने विश्वासका साथ संघीयताको अभ्यास शुरु गरियो । सो क्रममा भौतिक विकासका दृष्टिले आजको २०८२ सालसम्म आइपुग्दा हजारांै किलोमिटर सडक निर्माण गरिएको छ । नेपालका सबै जिल्ला र पालिकाहरुमा सडक सञ्जाल जोडिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि सबै प्रदेशमा प्राणघातक रोगको उपचार हुन सक्ने राम्रा अत्याधुनिक सुविधासहितका प्रदेश अस्पताल, जिल्ला अस्पताल, पालिका स्तरमा आधुनिक स्वास्थ्य चौकीहरुको स्थापना गरिएको छ । आजसम्म आइपुग्दा करिब सबै पालिकाका अस्पतालमा दरबन्दीसहित डाक्टरहरुको सुविधा उपलब्ध हुन थालेको देखिन्छ । त्यसै गरी नेपालीको औसत आयु दक्षिण एसियाका देशहरुमध्ये मध्यम स्तरमा पुगेको छ ।
नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर हाल करिब १५ सय डलर पुगेको छ । गरिबीको रेखामुनिको संख्या घट्ने क्रम जारी छ । अन्य देशसँगको व्यापार विस्तार सन्तुलनको दिशामा जाँदै छ । पहिलाभन्दा व्यापार घाटा कम हुँदै जान थालेको अवस्था छ । एसै अवधिमा नेपाल विद्युतमा आत्मनिर्भर भएको छ र नेपालले भारत, बंगलादेशलाई विद्युत् बेचिरहेको छ । करिब ९८ प्रसिशत नेपालीलाई आज विद्युत् सेवा उपलब्ध छ । पिउने पानी ९८ प्रतिशत नेपालीको घरमा पुगेको छ । साक्षरता दर दिन–प्रतिदिन बढिरहेको छ ।
जसले गर्दा आज नेपाल दक्षिण एसियाको मध्यम शिक्षित देशका रुपमा पुग्न सफल भएको छ ।
त्यति मात्र होइन, नेपाल सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । काठमाडौं–नौबिसे लगायत झन्डै आधा दर्जन ठाउँमा सुरुङमार्ग बनिरहेका छन् । आफ्नै देशमा रहेका खानी उत्खनन गरेर पेट्रोल, ग्यास, तेल, फलामजस्ता वस्तुहरुबाट आत्मनिर्भर बन्न खोजिरहेको छ । दैलेखको जलजलेमा ठूलो परिमाणको ग्यास भण्डार पत्ता लागेर उत्खनन भइरहेको छ । यस्ता विभिन्न ठाउँमा रहेका धातु खानी उत्खननका योजना बनाई कार्यान्वयनका चरणमा जाँदै छन् ।
त्यसै गरी काठमाडौंलगायतका विभिन्न शहरमा ठूला–ठूला स्टाडियमहरु निर्माण भइरहेका छन् । उद्योग व्यवसायका क्षेत्रमा सानादेखि मझौला, ठूला उद्योगहरु स्थापना हँुदै छन् । पर्यटकीय क्षेत्रमा पनि उल्लेख्य विकास भएको छ । देशका सबै ठूला शहरहरुमा होटल, एयरपोर्ट निर्माण हुँदै छन् । द्रुत गतिमा विकास भएका १० देशमध्येमा नेपाल पनि पर्न सफल भएको छ । यसरी संघीयताको कार्यान्वयनको क्रममा आजसम्म आइपुग्दा नेपालको विकास केही नै नभएको भन्ने अवस्थामा छैन, जति हुनुपर्ने त्यति नभएको मात्र हो ।
देशको राष्ट्रिय अखण्डता स्वाधीनताको पक्षमा हेर्ने हो भने, भारतद्वारा लगाइएको नाकाबन्दीको अन्त्य गर्दृै चीनसँग पारवहन सन्धि गरी नेपाललाई भूपरिवेष्टितबाट भूजडित देशको रुपमा रुपान्तरित भएको छ । भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरिएको छ । सार्वभौम नेपालको नक्सालाई संयुक्तराष्ट्रसंघमा दर्ता गरिएको छ ।
तर यी माथि उल्लेख गरिएका विकास निर्माण र राष्ट्रिय स्वाधीनताका पक्षमा भए÷गरिएका उपलव्धिका जानकारी जनताले सुन्ने–बुझ्ने मौका नपाउँदा राज्य सरकार र जनताबीचको दूरी टाढियो ।
दलका केही नेता–कार्यकर्ता सत्ताकेन्द्रित, लोभी, पापी, भ्रष्टाचारी, तस्करीमा लाग्नु, तिनीहरुमाथि राज्यले कारबाही गर्न नसक्नु, दण्डहीनता मौलाउँदै जानु, सुशासन कायम गर्न नसक्नु, रोजगारका अवसर नहुनु र युवाहरु विदेश पलायन हुनु, देशभित्र राष्ट्रिय सुरक्षाको अवस्थाबारे राज्य सरकार बेखबर रहनु, सुरक्षा संयन्त्रबाट दैनिक राष्ट्रिय सुरक्षाको अवस्थाबारे जानकारी लिने पद्धति नबसाल्नुजस्ता राज्यका कमजोरीले युवाहरुमा आक्रोश र विद्रोह जन्मियो ।
सो आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार मात्र ढालेन, यो आन्दोलनका नाममा नेपालको सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति भवनलगायत नेपाल राष्ट्रका पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भए । यी सबै गतिविधिका पछाडि आन्दोलनलाई सिरानी बनाएर पश्चिमा अन्तर्राष्ट्रिय शक्तिले नेपालमा अस्थिरता उत्पन्न गरी आफ्नो सैन्य अड्डा स्थापना गर्ने र छिमेकी चीनलाई नजिकबाट अब्जर्भ गर्न खोज्नेहरुको पनि हात रहेको प्रस्टै छ ।
साथै नेपालमा रहेका विभिन्न महत्वपूर्ण खानीहरुमा पनि आँखा लगाएको सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै नेपालले आफू आत्मनिर्भर हुन गरेको प्रगतिको दक्षिण छिमेकीलाई चित्त बुुझिरहेको छैन । साथै नेपालमा भारतको हेपाहा प्रवृत्तिको बढ्दो विरोध भइरहेको प्रति भारत तर्सिएर नेपालमा नियन्त्रित अस्थिरता उत्पन्न गर्न लागिरहेको जगजाहेर नै छ । तर पनि हामी डराउनुपर्ने अवस्था भने होइन, छैन ।
हामीले हाम्रो आन्तरिक राष्ट्रियता बलियो बनायौँ भने बाहिरी शक्तिको केही लाग्दैन ।अब राजनीतिक दलहरुले यस अवस्थाबाट मुक्त हुन र देशलाई संविधानको लिकमा ल्याउन राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधानको आवश्यक संसोधनसहित राजनीतिक स्थिरतालाई सुनिश्चित गर्दै अगाडि बढ्न सकिन्छ । यसको लागि परिवर्तित राजनीतिक जन–मानसिकतालाई आत्मसात् गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रमसहित इमानदारिता, निष्ठाको राजनेता भएमा देश बनाउन सकिन्छ, बन्छ । हामीसँग व्यवस्थापनको क्षमता नभएर यो अवस्था आएको मात्र हो ।
हामीसँग पर्याप्त प्राकृतिक स्रोत, सम्पदाहरु छन् । प्राकृतिक स्रोत–साधनहरुमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो । ल्यान्ड रिसोर्स म्यापिङ प्रोजेक्ट १९७८÷७९ का अनुसार नेपालमा खेतियोग्य जमिन १८ प्रतिशत रहेको छ । सन् २०१४ को वन सर्वेक्षणका अनुसार वनक्षेत्र ४४.७४ प्रतिशत रहेको छ । त्यसै गरी खनिजमा तामा, कोइला, चुनढुंगा, पेट्रोलियम पदार्थ, ग्यास, खरी, गेरु, सिसा, म्याग्नेसाइट, स्लेट, फलाम, अभ्रख, जस्ता, गन्धक, मार्बल, सुन सोडा, निकेल आदि रहेको पत्ता लागेको छ ।
त्यसै गरी समुद्री सुविधाबाट वञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछि विश्वको दोस्रो सबैभन्दा समृद्ध एसियाको पहिलो राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदीनालाहरु भएको मानिन्छ । कुल जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको छ । ताल, कुण्ड, पोखरीहरु अनगिन्ती छन् । यस्ता अनगिन्ती प्राकृतिक स्रोत, सम्पदाहरुले देशको विकास गर्न धेरै मद्दत गर्दछ । मानिसको श्रमविना प्रकृतिले दिएको साधन–स्रोत उपयोग गर्न सके नेपाल संसारकै सम्पन्न मुलुक बन्न सक्छ । हाम्रो प्राकृतिक सम्पदा यहाँको प्राकृतिक सौन्दर्य हो ।
यस सौन्दर्यले स्वदेशी र विदेशी पर्यटक बढाउन सकिन्छ । विदेशी मुद्रा र विदेशी प्रविधिबाट पूर्वाधारको विकास हुन्छ । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकोले यसको उपयोग गर्न सकेमा नेपाल विकसित हुन सक्छ । ‘केही भएन, अब केही हुन सक्दैन’ भनी नैराश्यतामा रहनु आवश्यक छैन । नैराश्यता नै समृद्धिको बाधक र समाजको घातक हो ।
(लेखक प्रसाई अधिवक्ता हुनुहुन्छ ।)











प्रतिक्रिया