कलैया, बारा ।
प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत, कलैयाबाट दण्ड–सजाय तोकिएका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई खोजतलास गरी मिति २०८२ साल पुस २१ गते पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–२ सिंगोलका ३० वर्षीय गोपाल श्रेष्ठ रहेका छन्। उनी लागू औषध सम्बन्धी मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको हो।
त्यस्तै, कोल्हवी नगरपालिका–६ प्रसौनाका २३ वर्षीय बच्चा बाबु चौधरी लागू औषध सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकिएका फरार अभियुक्त हुन्। उनलाई इलाका प्रहरी कार्यालय सिहोर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोल्हवी नगरपालिका–८ नयाँ बस्तीका ५१ वर्षीय भक्त बहादुर लामा चोरी मुद्दामा दुई महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्। उनलाई प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीमाथि चालु मुद्दा पनि रहेको प्रहरीले जनाएको छ। यसैगरी, फेटा गाउँपालिका–३ का २२ वर्षीय लालु मुखिया विन ज्यान मार्ने उद्योग सम्बन्धी चालु मुद्दामा फरार रहेका थिए। उनलाई इलाका प्रहरी कार्यालय छतवाबाट पक्राउ गरिएको हो। कलैया उपमहानगरपालिका–१४ बघवनका ३४ वर्षीय जितेन्द्र साह सोनार बैंकिङ कसुर सम्बन्धी चालु मुद्दामा फरार थिए।
उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्यलाई निरन्तरता दिइने र कानुनको दायरामा ल्याइने जनाएको छ।











प्रतिक्रिया