बूढीगंगाका तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३ करोड २७ लाख बढी हिनामिना


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बूढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १४ व्यक्ति र जागृति÷एम.के÷नेपाल जेभी, धनगढी, कैलालीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनको प्रतिकूल हुने गरी लक्षित बोलपत्रदातालाई ठेक्का दिन योग्यताको सर्त तथा मापदण्डलाई बदनियतपूर्वक परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

अख्तियारका अनुसार भ्रष्टाचार प्रकरणमा तत्कालीन नगरप्रमुख शाहसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मीलाई प्रतिवादी कायम गरिएको छ । त्यसै गरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, लेखापाल नवराज जोशी र खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक वसन्तबहादुर थापालाई पनि प्रतिवादी कायम गरिएको छ ।

त्यसै गरी, जागृति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहलाई पनि प्रतिवादी कायम गरिएको छ । सबै जना प्रतिवादीविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १ सय ७७ रुपियाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता न्यौपानेले बताउनुभयो ।