सुमो दुर्घटनामा ६ जनाको मृत्यु


हेटौंडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं छोटो दूरीको सडकखण्डमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

साँझ करिब सवा ५ बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको हाम्रो सुमो १ नामक हेटौंडा कम्पनीको ना.१ज १७७८ नम्बर सुमो सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि बारम्बार दुर्घटना हुने गरेको स्थानमा भएको उक्त दुर्घटनाका घाइतेहरु ९ जनामध्ये ४ जनाको घटनास्थलमा र २ जनाको हेटौंडा अस्पतालमा ल्याइएपछि डाक्टरले मृतघोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । मृतकहरुको नाम र ठेगाना भने खुलिसकेको छैन ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोली करिब साढे ५ बजे घटनास्थल पुगेको थियो । सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौंडातर्फ ल्याइएकोमा हाल ३ जनाको उपचार जारी छ । सुमोमा सवार ६ पुरुष, १ महिला, १ बालिका र १ बालक थिए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तरपूर्वमा पर्दछ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।