प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदी अस्पताल भर्ना


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । ती चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेनन् ।

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।

अहिले उनको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ ।