दोलालबाट-चर्नावती सुरुङमार्ग अध्ययनको लागि परामर्श सुरु

11.37k
Shares

दोलखा।

सरकारले काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटबाट दोलखाको चर्नावतीेसम्म सुरुङमार्ग निर्माणको लागि चालु आर्थिक बर्ष सम्भाव्यता अध्ययनमा ४५ लाख रुपैयाँ छुट्टाएको छ । 

दोलालघाट– चर्नावती सुरुङमार्गको लागि सम्भाव्यता अध्ययनमा सरकारले चालु आर्थिक बर्ष ४५ लाख रकम छुट्टाएकोले अहिले त्यस सम्बन्धी परामर्शको काम भै रहेको सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप वाराहीले बताए । 

परामर्शको काम सकेर भौतिक पूर्वाधार मन्त्रालयसंग अनुमति लिएर चाँडैनै सम्भाव्यता अध्ययन सुरु गरिने निर्देशक दीप वाराहीले बताए । दोलालघाट– चर्नावती सुरुङमार्ग करिब ३० किलोमिटरको हुने र यसको लागत निक्कै बढी निस्कने भएकोले सम्भाव्यता अध्ययनपछि निर्माण कार्य कहिले सुरु हुन्छ भन्ने बारे भने कतैबाट पनि स्पष्ट जवाफ आउन सकेको छैन । 

दोलखाकै लामाबगर लप्ची सडक खण्डको लप्चीगाउँ– लप्चीखोला (देउराली) सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको निक्कै बर्ष बितिसक्दा पनि सुरुङमार्ग निर्माणको काम भने सुरु हुन सकेको छैन । आर्थिक बर्ष ०७६-७७ मा सरकारले लामाबगर सडक सुरुङमार्गको नाममा सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको थियो । 

त्यसपछि लप्चीगाउँ– लप्चीखोला (देउराली) सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको थियो । सो अनुसार दुईवटा विकल्पमा अध्ययन गरी प्रतिवेदन प्राप्त भएको सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप वाराहीले जानकारी दिए । 

पहिलो विकल्पमा ३.५९८ किलोमिटरको सुरुङ निर्माण गर्ने र त्यसको लागत करिब नौ अरव ५५ करोड रहेको निर्देशक वाराहीले जानकारी दिए । दोस्रो विकल्पमा १.४५१ किलोमिटर सुरुङ निर्माण गर्ने र त्यसको लागत करिब चार अरव ४९ करोड रहेको निर्देशक वाराहीले जानकारी दिए । दुई विकल्प मध्य १.४५१ किलोमिटर सुरुङ निर्माण गर्ने विकल्प ठिक हुने सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निष्कर्ष रहेको निर्देशक वाराहीले बताए । 

चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय सडकको लामाबगर लप्ची खण्ड अन्तर्गत घोडामुतेमा यस अघि नासा हाइड्रो पावरको सक्रियतामा ११ सय मीटर सुरुङ मार्ग निर्माण भै सञ्चालनमा रहेको छ । यो सडक खण्डको देउरालीमा पटक– पटक सुख्खा पहिरो जाने भएकोले सम्भाव्यता अध्ययन सकिएको लप्चीगाउँ– लप्चीखोला सुरुङमार्ग तत्काल सुरु गर्नुपर्ने स्थानीयको माग छ ।

लप्चीगाउँ– लप्चीखोला सुरुङमार्ग निर्माण गरी बुङ्नीसम्म पुगेको सडकलाई करिब दुई किलोमिटर तन्काउन सकियो भने नेपाल– चीन सिमानाको लामाबगर स्थित फलाक नाका (६१ नम्बरको पिलर) जोडिने स्थानीय बताउँछन् । डिभिजन सडक कार्यालय दोलाखका प्रमुख नारायणदत्त भण्डारी नेपाल– चीन जोडने फलाक नाकासम्म सडक विस्तार गर्न सरकारले प्राथामिकतामा राखेको बताउँछन् । 

दोलखाको सिंगटीबाट लामाबगर जोड्ने सडकको काभ्रेभीर खण्डमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरेको ३३७ मीटर लामो सुरुङमार्ग पनि सञ्चालनमा रहेको छ । २०७२ सालको भुकम्पले काभ्रेभीर सडक खण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले यो सुरुङमार्ग निर्माण गरेको थियो ।