आमरण अनसनपछि सरकार वार्तामा, चार सदस्यीय समिति गठन

5.08k
Shares

काठमाडौं। 

विगत १० दिनदेखि माइतीघर मण्डलामा आमरण अनसनमा बसेका डा. निकोलस भुसाल (कमल) नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गठित वार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क अधिकृत गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य रहेका छन् । डा. भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकार वार्तामा आउन बाध्य भएको विश्लेषण गरिएको छ ।

डा. निकोलस भुसालले भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नेलगायत पाँच बुँदे माग अघि सार्दै आमरण अनसन सुरु गरेका थिए। माग पूरा नभएसम्म अनसन नतोड्ने अडान उनले बारम्बार सार्वजनिक रूपमा दोहो¥याउँदै आएका छन् ।

अनसन लम्बिँदै जाँदा डा. भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधवार वीर अस्पताल भर्ना गरिएको थियो । हाल उनी वीर अस्पतालको सर्जिकल ब्लकस्थित ३१० नम्बर क्याबिनमा राखिएको छ । अस्पताल प्रशासनका अनुसार उनलाई स्लाइन पानी बाहेक अन्य कुनै आहार दिइएको छैन र उनी अस्पतालमै अनसन जारी राखिरहेका छन् ।

वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माका अनुसार डा. भुसालको अवस्था हाल स्थिर भए पनि लामो समयसम्मको उपवासका कारण जटिलता बढ्न सक्ने जोखिम उच्च छ । “उहाँको जीवन रक्षा हाम्रो प्राथमिकता हो, तर उहाँले अनसन निरन्तरता दिने अडान लिनुभएको छ,” निर्देशक शर्माले भने । 

डा. भुसालको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सक समुदाय र नागरिक समाजले सरकारमाथि दबाब बढाउँदै आएका थिए। नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा. भुसालको जीवन रक्षा गर्न तत्काल वार्ता समिति गठन गरी मागका विषयमा गम्भीर निर्णय लिन सरकारलाई आग्रह गरेको थियो ।

मानवअधिकारकर्मी, पूर्वप्रशासक र नागरिक समाजका अगुवाहरूले पनि अनसनलाई बेवास्ता नगर्न र राजनीतिक संवादमार्फत समस्या समाधान खोज्न सुझाव दिएका थिए। उनीहरूले डा. भुसालको अनसन अब केवल व्यक्तिगत विरोध नभई राज्यको उत्तरदायित्व र संवेदनशीलताको परीक्षा बनेको टिप्पणी गरेका छन् ।

सरकारद्वारा वार्ता टोली गठन भएसँगै अब औपचारिक संवाद सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि, डा. भुसाल पक्षले मागहरूमा स्पष्ट प्रतिबद्धता नआएसम्म अनसन नतोड्ने संकेत दिँदै आएको छ । वार्ताले उनको जीवन रक्षा र माग सम्बोधनतर्फ कस्तो मोड लिन्छ भन्ने विषय अहिले राष्ट्रिय चासोको केन्द्र बनेको छ ।