डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमै अनसन जारी

4.42k
Shares

काठमाडौं। 

पाँच बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा १० दिनदेखि आमरण अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि बुधवार उनलाई वीर अस्पताल भर्ना गरिएको छ । तर, अस्पतालमा भर्ना भए पनि उनले आफ्नो अनसन जारी राख्ने अडान दोहो¥याएका छन् । 

डा. भुसाललाई वीर अस्पतालको सर्जिकल ब्लकस्थित ३१० नम्बर क्याबिनमा राखिएको छ । चिकित्सकहरूको निगरानीमा रहे पनि उनलाई हाल स्लाइन पानी बाहेक अन्य कुनै आहार दिइएको छैन । अस्पताल प्रशासनका अनुसार उनको अवस्था स्थिर भए पनि दीर्घ अनसनका कारण जटिलता बढ्ने जोखिम उच्च छ । 

वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्मा भन्छन्, “हाल उहाँको अवस्था स्थिर छ, तर उहाँले अनसन निरन्तरता दिने स्पष्ट अडान लिनुभएको छ । हामीले जीवन रक्षा सुनिश्चित गर्न स्लाइन पानी मात्र दिइरहेका छौँ ।”

डा. भुसालले भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नेलगायत पाँच बुँदे माग अघि सार्दै आमरण अनसन सुरु गरेका हुन् । उनले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान पटक–पटक सार्वजनिक रूपमा दोहो¥याउँदै आएका छन् । 

डा. निकोलस भुसाल चिकित्सा क्षेत्रमा चिनिएका चिकित्सक मात्र होइनन्, पछिल्लो समय नागरिक अधिकार, सुशासन र राजनीतिक संरचनामा सुधारको पक्षमा खुलेर आवाज उठाउने व्यक्तिका रूपमा पनि परिचित छन् । विगतमा पनि उनले राज्यका निर्णय, संक्रमणकालीन न्याय, राजनीतिक जवाफदेहिता र जनउत्तरदायी शासन व्यवस्थाका विषयमा सार्वजनिक बहसमा सक्रिय भूमिका खेलेका थिए ।

उनका समर्थकहरूका अनुसार डा. भुसालको अनसन व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेको र यसले देशको राजनीतिक संरचनामाथि गहिरो प्रश्न उठाएको छ । “उहाँको अनसन सत्ता परिवर्तनका लागि होइन, प्रणाली परिवर्तनका लागि हो,” उनका एक सहकर्मी चिकित्सक भन्छन् ।

नेपाल चिकित्सक संघले डा. भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै सरकारलाई तत्काल वार्ता समिति गठन गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै उहाको जीवन रक्षाका लागि अविलम्ब राजनीतिक र प्रशासनिक पहल आवश्यक रहेको उल्लेख गरेको छ । “डा. भुसालको अवस्था अब सामान्य आन्दोलनको दायराभन्दा बाहिर पुगेको छ,” संघको विज्ञप्तिमा भनिएको छ, “उहाँको मागमाथि गम्भीर छलफल र निर्णय लिन सरकारले ढिला गर्नु हुँदैन ।”

डा. भुसालको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल बुधवार साँझ वीर अस्पताल पुगेका थिए । उनले चिकित्सकहरूसँग स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए भने डा. भुसालसँग संक्षिप्त संवाद पनि गर्नुभएको अस्पताल स्रोतले जनाएको छ ।  तर भेटपछि सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक गरिएको भने छैन ।

डा. भुसालको अनसन लम्बिँदै जाँदा राजनीतिक दलहरूको मौनतामाथि प्रश्न उठ्न थालेको छ । नागरिक समाज, चिकित्सक समुदाय र केही मानवअधिकारकर्मीहरूले सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार दीर्घ अनसनले शारीरिक अंगहरूमा गम्भीर असर पर्न सक्ने भएकाले समयमै समाधान नखोजिए अवस्था अप्रत्याशित हुन सक्छ । यता, डा. भुसाल भने अस्पतालको शय्याबाटै आफ्नो अडान दोहो¥याइरहेका छन् —माग पूरा नभएसम्म अनसन नतोड्ने ।

 बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अनसनरत डा.भुषाललाई माइतीघर मण्डलामा पुगी भेटे लगतै उनलाई वीर अस्पताल लगिएको थियो । डा.भुषालसँग भेटेर बाहिरिँदै गरेका डा. बुढाथोकीले नेपाल समाचारपत्रसँगको कुराकानीमा उनको स्वास्थ्य अवस्था प्रति सरकार गम्भीर रहेको र तत्काल नयाँ कदम चालिने बताएका थिए । 

डा. भुसालको अनसन अब केवल व्यक्तिगत प्रतिवाद नभई राज्यको संवेदनशीलता, संवाद क्षमता र लोकतान्त्रिक उत्तरदायित्वको परीक्षा बनेको छ ।