काठमाडौं।
नेपाल बीमा प्राधिकरणले पाँचतारे हिल्टन होटलको पुनर्बीमा विवादमा चार कम्पनीमाथि कारबाही सिफारिस गरेको छ । प्राधिकरणले दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, एलियन्ट पुनर्बीमा ब्रोकर, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनीमाथि प्राधिकरणको निर्देशन र प्रचलित नियमविपरीत बीमा व्यवसाय गरेको निष्कर्ष निकाल्दै बीमा ऐन २०७९ को दफा १३४ र १३८ अनुसार कारबाही सिफारिस गरेको हो ।
प्राधिकरणले अर्थ मन्त्रालयलाई बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा कारबाही गर्न सञ्चालक समितिसमक्ष प्रस्ताव गरिएको स्रोतले जानकारी दियो । साथै घटनाको प्रकृति गम्भीर रहेको भन्दै अन्य निकायबाट थप अनुसन्धान गरिनुपर्ने सुझावसमेत प्राधिकरणले दिएको छ ।
हिल्टन होटलको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नगरिएको र केही व्यक्तिको मिलेमत्तोमा ब्याक डेटमा पोलिसी जारी गरिएको विषयमा अनुसन्धान भएको थियो । सो अनुसन्धानमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले एलियण्ट पुनर्बीमा ब्रोकरमार्फत हिल्टन होटलको पुनर्बीमा गरेको प्रमाण फेला परेको छ । एलियन्ट ब्रोकरले हुलदंगा तथा आतंकवाद जोखिमसम्बन्धी पुनर्बीमा हिमालयन पुनर्बीमा कम्पनीमा पठाएको देखिए पनि हिमालयनले उक्त प्रस्ताव अस्वीकार गरेको तथ्य खुलेको छ ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले ओरियण्टल इन्स्योरेन्सबाट आएको पुनर्बीमाको प्रस्ताव अस्वीकार गरेको पनि अनुसन्धानमा खुलेको छ । तर, हिमालयन पुनर्बीमाले अस्वीकार गरेको हुलदंगा तथा आतंकवाद जोखिम अन्ततः कहाँ र कसरी पुनर्बीमा गरियो भन्ने विषयमा यकिन हुन नसकेपछि थप अनुसन्धान आवश्यक देखिएको हो ।
बीमा ऐनको दफा १३४ अनुसार बीमा ऐन, नियम वा निर्देशन उल्लंघन गरेमा प्राधिकरणले लिखित चेतावनी दिने, सुधार आदेश दिने, सम्पत्ति तथा बहीखाता नियन्त्रणमा लिने, लाभांश वितरण रोक्ने, पदाधिकारी निलम्बन गर्ने वा बीमा व्यवसाय आंशिक वा पूर्ण रूपमा रोक लगाउन सक्ने अधिकार राख्दछ । आवश्यक परेमा कम्पनीको इजाजतपत्र खारेजका लागि उच्च अदालतमा निवेदन दिन सकिने व्यवस्था पनि ऐनमा उल्लेख छ ।
त्यस्तै दफा १३८ अनुसार प्राधिकरणको निर्देशनविपरीत बीमा व्यवसाय गरेमा, रीत नपु¥याई कारोबार गरेमा वा झुट्टा विवरण तयार गरेमा पहिलोपटक दुई लाख रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । दोस्रोपटक २५ लाख र तेस्रो पटक वा त्यसपछि प्रत्येक पटक ५० लाख रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ । जरिवाना अघि सम्बन्धित पक्षलाई सात दिनको म्याद दिई लिखित सफाइको अवसर दिनुपर्ने व्यवस्था पनि ऐनमा छ ।
प्राधिकरणको अनुसन्धानले हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिमको पुनर्बीमा अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीको पुलमार्फत गर्नुपर्ने व्यवस्था उल्लंघन भएको निष्कर्ष निकालेको छ । तर, ओरियन्टल इन्स्योरेन्सले उक्त जोखिम एलियन्ट ब्रोकरमार्फत हिमालयन पुनर्बीमामा सारेको, ‘नो अब्जेक्सन’ पत्रसमेत नलिएको पाइएको छ । एलियण्टले कागजात नष्ट भएको दाबी गरे पनि प्राधिकरणले त्यसलाई शंकास्पद मानेको छ । यस प्रकरणमा दाबी भुक्तानी कसले गर्ने भन्ने अन्योल सिर्जना भएपछि प्राधिकरणले अर्थ मन्त्रालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत प्रतिवेदन पठाएको छ ।
भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको आगजनी र तोडफोडबाट ४ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । करिब ८ अर्ब रुपियाँ लगानी भएको होटलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, एभरेष्ट बैंक, प्रभुलगायतका बैंकहरूको सहवित्तीयकरणमा ५ अर्ब रुपियाँभन्दा बढी कर्जा लगानी रहेको छ । होटलले ५ अर्ब रुपियाँको मात्र बीमा गरेकाले यो ‘अन्डर इन्स्योर्ड’ अवस्थामा रहेको छ ।











प्रतिक्रिया