लमजुङ।
लमजुङ बेंसीशहरमा बिहीबार १३ औँ राष्ट्रिय टोपी तथा पोसाक दिवस मनाइएको छ । विभिन्न संघ संस्थाको आयोजनामा ‘नेपाली टोपी हाम्रो पहिचान’ भन्ने नारासहित दिवस मनाइएको हो ।
नेपाली पहिचानका प्रतीक दौरा सुरुवाल, टोपी र गुन्यु चोलीलाई विशेष गरी युवापुस्तामाझ स्थापित गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष जनवरी १ मा यो दिवस मनाउँदै आइएको छ ।
दिवसका अवसरमा रोटरी क्लब अफ लमजुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय लमजुङ, लमजुङ उद्योग वाणिज्य संघ, रोट्रयाक्ट क्लब, लायन्स क्लब अफ लमजुङ, जन्मदिनमा वृक्षरोपण अभियान, आमा समूहलगायत संस्थाको सहकार्यमा बेंसीशहरमा ¥याली निकालिएको थियो । सहभागीहरुले भादगाउँले र ढाका टोपी लगाएर राष्ट्रिय झण्डासहित बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नेपाली टोपी केवल पोसाक मात्र नभई इतिहास, संस्कार र राष्ट्रिय पहिचानसँग जोडिएको प्रतीक भएकाले यसलाई दैनिक जीवनमै अपनाउन आवश्यक रहेको बताए । उनले नेपाली टोपी विश्वमै आकर्षक र पहिचान बोकेको पोसाक भएको उल्लेख गरे।
रोटरी क्लब अफ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले ढाका टोपीको देश तथा विदेशमा समेत महत्त्व रहेकाले निरन्तर टोपी दिवस मनाइँदै आएको बताए । त्यस्तै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले विदेशी संस्कृतिको प्रभाव रोक्न सरकारी तवरबाटै टोपी दिवसलाई विशेष महत्त्व दिनुपर्ने धारणा राखे ।
ढाका टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिने बताइन्छ । नेपालका विभिन्न समुदायले आफ्नै परम्परा र पहिचान झल्किने भादगाउँले तथा ढाका टोपीलाई नेपाली टोपीका रुपमा प्रयोग गर्दै आएका छन् ।











प्रतिक्रिया