नेपाल विश्वको त्यस्तो देश हो, जुन देशका मानिस आफूले कथंकदाचित सिन्को भाँचिहालेमा ‘मैले त आकाश खसाएँ, पाताल भसाएँ’ भनी अहंता देखाउने गर्छन् । ‘तैँले के गरेको छस् ?’ भनी प्रश्न गर्छन् । कतिपयले चाहिँ ‘म आमाको कोखमा मान्छेको स्वरुप लिन थाल्दैखेरि सबै कुरो जानेर आएको छु’ भनेर सर्वज्ञाता भएको स्वाङ पार्ने गर्छन् । त्यस्तै कतिपय मानिसचाहिँ कुनै सामाजिक संघसंस्थामा रहर गरेर जाने अनि काम गर्दै जाँदा आफूबाट केही–कमजोरी भएमा कसैले औंल्याइदियो भने उसलाई धन्यवाद दिनुको सट्टा फलानोले गरिखान दिएन भन्ने गर्छन् ।
फलानोले गर्दा राजीनामापत्र लेख्न बाध्य भएको भनेर राजीनामाको व्यहोरामै उल्लेख गर्छन् । यति मात्र होइन, यो उमेरदेखि मैले यसो गरेँ, उसो गरेँ, यतिवटा गीत लेखँे, यतिवटा गाएँ, यतिवटा नाच प्रस्तुत गरेँ, यतिवटा कार्यक्रममा भाषण गर्न गएँ, यति किताब लेखेँ आदि भनेर राजीनामापत्रमा फेहरिस्त बायोडाटा नै पेस गर्नेसम्मको हर्कत देखाउनेहरु पनि देखियो । बुझिएअनुसार जो–कसैले राजीनामापत्र लेख्दा आफूले गरेको कामको फेहरिस्त पेस गर्नु भनेको आफ्नो मपाइँत्व पोख्नु मात्रै हो ।
तर कुलुङ जातिभित्र एकजना यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई हामीले असमयमै गुमाउनुपरेको थियो । उहाँ हुनुहुन्थ्यो– इन्द्र होनित्ती कुलुङ (बूबू–दाजु) । हामीले उहाँलाई गुमाएको गत भदौ २४ गते तीन वर्ष पूरा भएर चार वर्ष लागेको छ । यही पुस १६ गते (हिजो) उहाँको ६६ औं जन्मजयन्ती परेको थियो । हुन त उहाँको जन्म वि.सं. २०१५ मा हो कि २०१६ मा हो ? परिवारका कुनै सदस्यलाई थाहा भएमा प्रस्ट्याउनुपर्ने देखिन्छ ।
उहाँको जन्मजयन्ती मनाउने क्रममा ६६ औं जन्मजयन्ती भनिएको छ । उता उहाँले चोला फेरेपछि किरात कूलू गूस खम सुनसरी जिल्ला कार्य समिति, प्रदेश नम्बर एक समिति, कूलू मीम्छा गूस खमलगायतले तयार पारेकोे समवेदना सन्देशपत्रमा इन्द्र होनित्तीको जन्म वि.सं. २०१५÷०८÷२९ लेखिएको छ । जे होस्, उहाँले चोला फेरेर जानुअघिसम्म उहाँ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम) को केन्द्रीय महासचिव हुनुहुन्थ्यो ।
माथि शुरुमै लेखिएझैँ इन्द्र होनित्तीले संघसंस्थाका हितमा डटेर काम गर्ने क्रममा कहिल्यै ‘मैले पाताल भसाएँ, आकाश खसाएँ’ भनी अहंता प्रदर्शन गर्नुभएन । कसैलाई तैँले के गरिस् ? भनेर प्रश्न पनि गर्नुभएन । बरु कसैको व्यक्तिगत स्वार्थका लागि आफ्नो बिग्रँदो स्वास्थ्यलाई समेत ख्याल नगरी खट्न तयार हुनुहुन्थ्यो । ‘म आमाको कोखमा मान्छेस्वरुप लिन थाल्दाखेरि नै सबै कुरो जानेर आएको मान्छे हँु, तैँले के जानेको छस् र ?’ भनेर कसैलाई भन्नुभएन । मैले यसो गरेँ, उसो गरेँ भनेर आफ्नो बायोडाटा उहाँले कहिल्यै पेस गर्नुभएन ।
हामी सबैलाई थाहा भएकै कुरो हो कि उहाँ जहिल्यै पनि आफ्नो व्यक्तिगत खर्चमै कुुलुङ जातिको बसोबास भएका जिल्ला, गाउँ, टोलमा जाने गर्नुहुन्थ्यो । स्थानीय स्तरका कुलुङहरुलाई भेला पारेर आफ्नो जातीय स्वपहिचान, जातीय चिनारी, पितापुर्खा, वंश, परम्परा, इतिहास, भाषा, भेषभूषा, रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन आदिका विषयमा जानकारी गराउने, जनचेतना पैmलाउने काममा खटिरहनुहुन्थ्यो । हामीलाई सधँै थिचोमिचो गर्ने, सकेसम्म दलनमलन गर्ने, भीड र संख्या देखाएर ‘तर मारिरहने तरमाराहरु’ को भ्रम चिर्नका लागि उहाँ सक्दो प्रयास गर्नुहुन्थ्यो ।
प्रकृतिको शाश्वत नियमअनुसार हामी सबैले एकदिन चोला फेर्नै पर्छ । प्रकृतिको यही नियमानुसार नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) का महासचिव इन्द्र होनित्ती कुलुङले पनि चोला फेर्नुभयो । तर अलि चाँडै चोला फर्नुभयो । हो, उहाँले त्यति चाँडै छाडेर जानुहोला भन्ने हामीलाई लागेको थिएन, त्यस्तो पटक्कै सोचेका थिएनौं । तथापि पनि उहाँले हामी सबैलाई सधैँका लागि छाडेर गएको, चोला फेरेको त शाश्वत सत्य नै हो ।
हामी केन्द्रमा रहेका केही महानुभावहरुले उहाँको साँच्चै अभाव महसुस गर्नुभएको छ । कुलुङ जातिको जनस्तरमा पनि अवस्था त्यही छ । एक किसिमले भन्नुपर्दा बाहिर–बाहिर ‘हाहा हुहु’ चाहिँ राम्रैसँग भइरहेको देखिए तापनि, प्रचारप्रसार पनि गतिलैसँग भएको देखिए तापनि जनस्तरमा कलुङ जातिको वास्तविक अवस्था के–कस्तो छ ? हामीले खुलेर भन्न नसकिने अवस्था छ । हो, यसो भनिरहँदा म लेखक नै नराम्रो देखिनेवाला हुन सक्छु । मलाई नै नराम्रो देख्नेछन्, यो मलाई राम्रोसँग थाहा भएको कुरो हो । तर फेरि पनि कुरा नपचापाईकन भन्दा वास्तविकता यही हो ।
व्यक्ति एक भए तापनि अनेक व्यक्तित्वका धनी हुनुहुन्थ्यो, इन्द्र होनित्ती । विशाल धर्ती माताको काखमा अहिलेसम्म मानवको चोला लिएर जे–जति मानिसहरु जन्मे, हुर्के र चोला फेरे, ती मध्ये जो–जति मानिस इमान–जमानका साथ बाँचे, बाँच्ने प्रयास गरे, ती मध्येमा इन्द्र होनित्ती कुलुङ पनि पर्नुहुन्छ । तर दुःखको कुरो के भने, उहाँले हामीलाई अलि चाँडै (वि.सं. २०७९ भदौ २४ गतेका दिन) छाडेर जानुभयो, चोला फेरेर जानुभयो ।
यो वर्ष उहाँको ६६ औं जन्मजयन्ती मनाइँदै छ । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै हो । मैले यसो भनिरहँदा, यस्तो अनुभव गरेर लेखिरहँदा वास्तविकताचाहिँ के हो भने, वि.सं. २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाडौं उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जंगलमा लगेर किराती कुलुङहरुको मूल्य–मान्यता र परम्पराअनुसार ‘सातीपूस’ (मृत्यु संस्कार गर्ने मानिस) लगाएर, विधि–विधान गरेर गाडिसकेका छौं, यो शाश्वत सत्य हो ।
वि.सं. २०१५ पुस २९ गते मामा (आमा) पञ्चमाया बान्तावा (कुलुङ) एवं पापा (बुबा) डिल्लीमान होनित्ती कुलुङको सुपुत्रका रुपमा जन्मनुभएका इन्द्र होनित्ती कुलुङले ६४ वर्षको उमेरमा नै मानवरुपी चोलाबाट अर्को चोला फेर्नुभयो । हुन त उहाँले नेपालीले बाँच्ने औसत आयु (६८–६९ वर्ष पुरुष र ७०–७१ वर्ष महिला पछिल्लो तयांकअनुसार पुरुष ६९–७० वर्ष र महिला ७२–७३ वर्ष) भन्दा केही कम समय मात्रै बाँच्नुभयो । हामीले जान्नै पर्ने र सत्य कुरो के हो भने, हाल अधिकांश मानिस जति धेरै समयसम्म बाँचे पनि धर्तीलाई बोझ हुनका लागि मात्रै बाँचिरहेका देखिन्छन् ।
इन्द्र होनित्ती कुलुङको हकमा चाहिँ त्यो कुरो लागू भएन । किनभने, उहाँ आफूले मानव चोला फेर्नु केही दिनअघिसम्म देश, आफ्नो समुदायका साथै घर–परिवारका लागि केही न केही गरिरहनुभयो । उहाँले केही न केही गर्ने क्रममा नै कुलुङ समुदायले उहाँलाई तिर्नै नसक्ने गरी ठूलो गुण लगाएर जानुभएको छ । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको काम गर्नुभएको छ । कसैले लगाउन नसकेको गुण लगाउनुभएको छ । कसैले दिन नसकेको योगदान दिनुभएको छ । यसो भनिरहँदा अतिशय प्रशंसा गरेको ठहर्ला । कुलुङ समुदायको बसोबास रहेका हरेक गाउँका व्यक्तिका साथै कुलुङ समुदायका अगुवा र अन्य समुदायका अगुवाहरुसँग पनि इन्द्र होनित्तीका सम्बन्धमा खोजी गरी प्रकाशमा ल्याउनुपर्ने देखिन्छ ।











प्रतिक्रिया