भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको ३ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पोख्रेलसहित मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोगका तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र भीमबहादुर विकविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरू सबै जनाविरुद्ध जनही १ करोड ४० लाख २५ हजार रुपियाँ बिगो कायम गरिएको छ ।कास्कीको साबिक कन्धानीडाँडा गाउँ विकास समिति, वडा नम्बर ४ तथा पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको सार्वजनिक विद्यालय परिसरको कित्ता नम्बर ७२५ को क्षेत्रफल ३–३–०–० रोपनीसमेतको जग्गा व्यक्तिको नाममा कायम गरिएको अभियोग पत्रमा उल्लेख छ ।

ती सबै जनाले मिलेमतो गरी विद्यालयको नाममा कायम रहेको उक्त जग्गा व्यक्ति भीमबहादुर विकको नाममा दर्ता कायम गरी जग्गाको जग्गाधनी प्रमाण पुर्जासमेत वितरण गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ ।