पोल्ट्री व्यवसायमा वार्षिक डेढ खर्बको कारोबार


काठमाडौं ।

१३औँ राष्ट्रिय पोल्ट्री (कुखुरा पालन) दिवस मनाउने तयारीमा रहेका कुखुरा व्यवसायीहरूले नेपालमा पोल्ट्री क्षेत्रको वार्षिक कारोबार करिब १ खर्ब ४५ अर्ब रुपियाँ पुगेको बताएका छन्। हाल यस क्षेत्रमा १ खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी रहेको व्यवसायीहरूको भनाइ छ।

नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात वि.सं. २०१७ पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रद्वारा सेन्ट्रल ह्याचरीको उद्घाटनपछि भएको मानिन्छ । सोही दिनको स्मरणमा २०७० सालदेखि प्रत्येक वर्ष पुस १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालिएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले कोरोनापछि पोल्ट्री क्षेत्र अझै पूर्ण रूपमा सुधार हुन नसकेको बताएका छन्। मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कोरोनाअघि अण्डा उत्पादनका लागि चल्ला उत्पादन गर्ने १४ ह्याचरी अहिले घटेर ७ मात्र बाँकी छन्। त्यसैगरी मासुका लागि ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी ३४० बाट घटेर १०९ मा झरेका छन्। दाना उद्योग पनि २०० भन्दा बढीबाट घटेर ११५ मा सीमित भएको छ।

नेपाल कुखुरा उत्पादनमा लगभग आत्मनिर्भर भए पनि कच्चा पदार्थ, औषधि, भ्याक्सिन र उपकरणमा उच्च आयात निर्भरता रहेको व्यवसायीहरूको भनाइ छ। दानाको कच्चा पदार्थमध्ये करिब ७० प्रतिशत, औषधि ९० प्रतिशत, तथा भ्याक्सिन र औजार–उपकरण ९५ प्रतिशतसम्म आयात हुने गरेको अध्यक्ष भट्टले जानकारी दिए। पोल्ट्री क्षेत्रमा आवश्यक कच्चा पदार्थ तथा सामग्री आयात गर्दा वार्षिक करिब ४५ अर्ब रुपैयाँ बाहिरिने गरेको उनले बताए।

नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार पहिला मकै पनि धेरैजसो आयात हुने गरेकामा अहिले देशभित्र मकै उत्पादन बढेपछि आयात ५० प्रतिशतभन्दा कममा झरेको छ। तर दानाका लागि आवश्यक भटमासको ९९ प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै कायम छ।

कुखुरापालनमा लाग्ने कुल खर्चको करिब ७० प्रतिशत हिस्सा दानाले ओगट्ने भएकाले आयातित कच्चा पदार्थका कारण लागत बढिरहेको व्यवसायीहरूको गुनासो छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले मकै र भटमास खेतीमा प्रोत्साहन दिए लागत घटाउन सकिने बताए। भ्याक्सिन, उपकरण र प्रविधि स्वदेशमै उत्पादन गर्न तत्काल कठिन भए पनि कृषि कच्चा पदार्थमा आत्मनिर्भरता सम्भव रहेको उनको भनाइ छ ।