काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी डा. गुरुशरण साहलाई ८ सय ८४ मतको अन्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो ।
निर्वाचन समितिका अनुसार डा. शेर्पाले कुल ५ हजार २ सय ३४ मत प्राप्त गर्नुभएको छ भने डा. साहले ४ हजार ३ सय ५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदका लागि तेस्रो उम्मेदवार डा. अजयसिंह थापाले १ हजार ८ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी, काउन्सिलको आठ सदस्य पदका लागि भएको निर्वाचनमा ३३ उम्मेदवारी परेको थियो । उमेदवारीमध्ये आठ जना विजयी भएका छन् । सदस्यमा सबैभन्दा बढी मत प्राप्त गर्दै डा. छविलाल पन्थी ४ हजार ८ सय ५७ मतका साथ पहिलो स्थानमा निर्वाचित हुनुभएको छ । दोस्रो स्थानमा डा. सारिका गोइतले ४ हजार ४ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित अन्य सदस्यहरूमा डा. दीपेन्द्र पाण्डे (४,०१५), डा. युविनकुमार यादव (३,६२८), डा. अस्मिता पोखरेल (३,४०४), डा. सम्राट पराजुली (३,२८२), डा. निना राई (३,१११) र डा. रविन बस्नेतले (३,०७२) प्राप्त गरेका छन् । यो निर्वाचन चिकित्सा क्षेत्रको नियमन र विकासमा महत्वपूर्ण मानिन्छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको दर्ता, योग्यता निर्धारण र नैतिकता कायम गर्ने जिम्मेवारी बहन गर्दै आएको छ । यसपटकको निर्वाचनले काउन्सिलको नेतृत्वमा नयाँ ऊर्जा भित्र्याउने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित उपाध्यक्ष शेर्पाले आगामी दिनमा परम्परागत निर्वाचनलाई सुधार गरी डिजिटल प्रणालीमा लैजाने र उपविजेताले निर्वाचनका बेला अघि सारेका एजेन्डा र उहाँहरूलाई पनि थिंक ट्यांकका रूपमा सम्मानजनक रूपमा समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले यो निर्वाचित टिमले काउन्सिलबाट गर्नुपर्ने र गर्न सकिने काम छिटो छरितो गर्नेतर्फ केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो ।
निर्वाचनका लागि काउन्सिलले काठमाडौं उपत्यकासहित देशभर २१ वटा मतदान केन्द्र तोकेको थियो । उपत्यका बाहिरका १८ केन्द्रमा पुस ४ देखि ६ गतेसम्म र उपत्यकाभित्र पुस ११ र १२ गते मतदान सम्पन्न भएको थियो । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भई १३ गते दिउँसो २ बजेबाट जाउलाखेलको निर्वाचन कार्यालयमा मतगणना सुरु भई १५ गते दिउँसो २ बजे सम्पन्न भएको थियो । मतगणनाका लागि धेरै समय लागेको र परम्परागत शैली भएकाले धेरैलाई दुःख भएको नवनिर्वाचित उपाध्यक्षले डिजिटलको आवश्यकता रहेको औंल्याउनुभयो ।
प्रमुख निर्वाचन अधिकृत प्रा.डा. रविन्द्रमान श्रेष्ठले निर्वाचन तथा मतगणना सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै परिणाम घोषणा गर्नुभएको थियो । उहाँले सहयोग गर्ने मतदाता, उम्मेदवार, सुरक्षाकर्मी र सम्बद्ध सबैप्रति आभार व्यक्तसमेत गर्नुभएको थियो ।
यो निर्वाचनमा दर्ता भएका चिकित्सकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । विजयी उम्मेदवारहरूले चिकित्सा शिक्षा र सेवाको गुणस्तर वृद्धि, नियमनमा कडाइ र चिकित्सकहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
डा. कुञ्जाङ शेर्पा मुटुरोग विशेषज्ञका रूपमा परिचित हुनुहुन्छ र वीर अस्पतालसँग आबद्ध हुनुहुन्छ । उहाँको विजयले काउन्सिलमा विविधता र नयाँ दृष्टिकोण भित्र्याउने विश्वास गरिएको छ । चिकित्सा क्षेत्रका विज्ञहरूका अनुसार यो निर्वाचनले मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि नयाँ आधार तयार पार्ने छ । काउन्सिलको नयाँ नेतृत्वले चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा निर्वाचित डा. कुञ्जाङ शेर्पा ः हृदयरोग उपचारमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएका चिकित्सक हुनुहुन्छ । डा. शेर्पा नेपालका चर्चित कार्डियोलोजी विशेषज्ञ हुनुहुन्छ । वीर अस्पतालमा कन्सल्टेन्ट कार्डियोलोजिस्टका रूपमा कार्यरत डा. शेर्पाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हृदयरोगको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । डा. शेर्पाले नेपाल मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस पूरा गर्नुभएको थियो । त्यसक्रममा फिजियोलोजी, बायोकिमिस्ट्री, माइक्रोबायोलोजी र नेत्ररोग विषयमा डिस्टिङ्सन प्राप्त गर्नुभएको थियो ।
उहाँले धरानस्थित बीपीकेआईएचएसबाट आन्तरिक चिकित्सा (एमडी इन्टरनल मेडिसिन) र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट डीएम कार्डियोलोजी पूरा गर्नुभएको छ । उहाँ २०१६ देखि २०१९ सम्म डीएम कार्डियोलोजीका सिनियर रेजिडेन्टसमेत रहनुभएको थियो । यसअघि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पनि सेवा प्रदान गर्नुभएका डा. शेर्पाको मुख्य विशेषज्ञता क्लिनिकल कार्डियोलोजी, निवारक कार्डियोलोजी, कार्डियाक इमेजिङ, इलेक्ट्रोफिजियोलोजी र डिभाइस थेरापीमा रहेको छ ।
शेर्पा समुदायका पहिलो डीएम कार्डियोलोजिस्टका रूपमा परिचित डा. शेर्पाले विभिन्न अनुसन्धान र प्रकाशनमार्फत नेपालमा हृदयरोगको निदान र उपचारमा नयाँ आयाम थप्नुभएको छ । उहाँ रिसर्च गेटमा ५८ भन्दा बढी प्रकाशनका सह–लेखक हुनुहुन्छ र १९४ भन्दा बढी साइटेसन प्राप्त गरिसक्नुभएको छ । मुटुको एरिदमिया, हाइपरटेन्सन स्क्रिनिङ र कोभिड–१९ सँग सम्बन्धित मुटु समस्या जस्ता विषयमा उहाँका योगदान उल्लेखनीय छन् । हालै प्रकाशित एक अध्ययनमा उहाँ माउन्ट एभरेस्ट आरोहणका क्रममा कार्डियाक एरिदमियाको जोखिमबारे सह–लेखक हुनुहुन्छ ।
‘नेपालमा हृदयरोगका बिरामीहरूलाई उन्नत प्रविधि र समयमै गुणस्तरीय उपचार प्रदान गर्नु मेरो मुख्य उद्देश्य हो’ –डा. शेर्पाले बताउनुभएको छ । उहाँ बौद्ध हार्ट क्लिनिकमा पनि सेवा प्रदान गर्दै आएका छन् आउनुभएको छ र मुटुरोगसम्बन्धी जनचेतना फैलाउन विभिन्न मिडियामा सक्रिय हुनुहुन्छ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षका रूपमा निर्वाचित भएपछि डा. शेर्पाले चिकित्सा शिक्षा, चिकित्सकहरूको नैतिकता र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा थप योगदान दिने अपेक्षा गरिएको छ ।
डा. शेर्पाको यो विजयले नेपालको स्वास्थ्य क्षेत्रमा विविधता र युवा ऊर्जा भित्र्याउने विश्वास गरिएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार उहाँको नेतृत्वले मुटुरोग उपचार र चिकित्सा नियमनमा सकारात्मक प्रभाव पार्ने छ ।











प्रतिक्रिया