काठमाडौं ।
नेपालमा पेट्रोलियम पदार्थ (तेल तथा ग्यास) को खानीहरू फेला परे पनि त्यसको उपयोग गरी व्यावसायिक उत्पादनको कार्य गराउन जेन–जी सरकारले खासै ध्यान दिन सकेको छैन ।
दैलेखको शिरस्थानदेखि पादुकास्थानसम्म विस्तृत अन्वेषण गर्दा चारवटा सम्भावित क्षेत्र पहिचान भएका छन् । दैलेखमा ४ वटा सम्भावित क्षेत्र पहिचान भएकोमा भैरवी गाउँपालिका–१ जलजलेमा ४०१३ मिटर गहिराइको पेट्रोलियम अन्वेषण ड्रिलिङ कार्य गत माघमा नै सम्पन्न भएको थियो । हाल चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२.१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार रहेको देखिएको छ भने अन्य क्षेत्रमा समेत थप भण्डार रहेको अनुमान गरिएको छ ।
विभिन्न अन्वेषणबाट दैलेखलगायत दाङ, पाल्पा र सुनसरी जिल्लामा पनि पेट्रोलियम स्रोतको सम्भावना देखिएको छ । तर, पनि ती स्थानमा प्रभावकारी कार्य हुन सकेको छैन । जसका कारण पेट्रोलियमको व्यावसायिक उत्पादन गर्न वर्षौं लाग्ने देखिएको छ । सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्य जेन–जी सरकारले लिँदै आए पनि यस विषयमा कुनै ध्यान पुग्न सकेको छैन ।
यसअघिको सरकारले पेट्रोलियमको खानी फेला परे पनि प्रभावकारी काम अघि बढ्न नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दैलेखमा फेला परेको पेट्रोलियमको खानीबाट छिटोभन्दा छिटो व्यावसायिक उत्पादनको काम थाल्ने गरी आवश्यक गृहकार्य गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवाला निकायलाई ताकेता गरेको थियो तर जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले यस विषयमा खासै चासो नदिएको बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल अन्वेषणात्मक ड्रिलिङ गरिएको वेल एनडीपी १ मा विभिन्न किसिमका प्राकृतिक ग्यासका भण्डाहरू फेला परेका छन् । जसमध्ये मिथेन ग्यासको मात्रा ९० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । यसमा जम्मा हाइड्रोकार्बन ग्यास भ्यालु १ प्रतिशत बढी रहेको कुल ३५५ मि मोटाइका ९१ वटा तहहरू रहेका छन् । यसै गरी टीएचजी २ प्रतिशतभन्दा बढी रहेका कुल २ सय ४४ मि मोटाइका ६६ वटा तहहरू र टीएचजी ५ प्रतिशतभन्दा बढी रहेका कुल ८४ मि मोटाइका २० वटा तहहरू रहेका छन् । मन्त्रालयका अनुसार हालको अन्वेषणात्मक ड्रिलिङबाट ११२.१ अर्ब घन मिटर प्राकृतिक ग्यासको भण्डार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागले भैरवी गाउँपालिका–१ जलजलेमा रहेको प्राकृतिक ग्यासको परीक्षण उत्पादन गरी यसको गुणस्तर, उत्पादनशीलता, भण्डार मूल्यांकन र व्यावसायिक उत्पादनको सम्भावना यकिन गर्ने काम भइरहे पनि त्यसको प्रभावकारिताका बारेमा सरकारी निकायले कुनै चासो दिन नसकेको हो । विभिन्न सरोकारवाला निकायको बेवास्ता तथा प्रशासनिक ढिलासुस्तीका कारण पेट्रोलियम खानीबाट ग्यासको व्यावसायिक उत्पादन कार्य निकै ढिलो हुने सम्भावना बढेको छ ।
नेपालमा पेट्रोलियम पदार्थ (तेल तथा ग्यास) को स्रोतको सम्भाव्यता अध्ययन गर्नका २३ मार्च २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई सरकारबीच सहमति भएको थियो । सोही सहमतिअनुसार अर्थ मन्त्रालयबाट २५ अगस्ट २०१७ मा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता भएको थियो । त्यसपछि २८ फेब्रुअरी २०१९ मा चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागबीच कार्यान्वयन सम्झौता सम्पन्न भई अन्वेषणको काम अघि बढेको थियो । यस कार्यका लागि चीन सरकारबाट १३६ मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो ।











प्रतिक्रिया