६४ दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

११० सिटमै उम्मेदवारी दिने दलको संख्या १८

470
Shares

-समानुपातिक मतपत्रमा ५८ चिह्न हुने

काठमाडौं ।

समानुपातिक प्रणालीअन्तर्गत महिला र विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै ६४ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रयोजनका लागि दल दर्ता गराएका १ सय राजनीतिक दलमध्ये ६४ दलले मात्रै तोकिएको समयसीमाभित्र उम्मेदवारको बन्दसूची पेस गरे । आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउन निस्सा लिएका दललाई मंगलवार बिहानसम्म सूची बुझाउने समय दिएको थियो । सो अवधिमा ६४ दलले सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगका अनुसार ५४ वटा दल आफ्नै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नेछन् भने १० वटा दल चारवटा चुनाव चिह्नमा संयुक्त रूपमा चुनावमा सहभागी हुनेछन् । त्यसै गरी समानुपातिकतर्फको मतपत्रमा जम्मा ५८ वटा चुनाव चिह्न रहनेछन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिक र १ सय ६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । समानुपातिकतर्फ अधिकतम ११० सिटमै उम्मेदवारी दिने दलको संख्या १८ रहेको छ । तीमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) रहेका छन् ।

त्यस्तै, ८ वटा दलले फरक–फरक तीन चुनाव चिह्नमा संयुक्त रूपमा १ सय १० सिटमै उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी ३८ दलले कम सिटमा मात्रै उम्मेदवारी दिएका छन् । सबै दलले अधिकतम सिटमा उम्मेदवारी नदिनुका कारण राजनीतिक संगठनको क्षमता, संशाधन र चुनावी रणनीतिसँग जोडिएको पाइएको छ । दलहरूले कम्तीमा ११ र बढीमा १ सय १० उम्मेदवार तय गर्नुपर्ने थियो । यसअनुसार अधिकतम सिटमा आ–आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी उम्मेदवारी दिनेको संख्या १८ छ ।
त्यसै गरी १ सय १० सिटमा उम्मेदवारी दिने दलहरूमा संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेपाल कम्युनस्ट पार्टी (संयुक्त) पनि छन् । एकल चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि छन् । ८ वटा दलले भने तीन फरक चुनाव चिहनमा संयुक्त उम्मेदवारी दिएका हुन् ।

एकल चिह्नमा आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त नामावली बुझाएका छन् । त्यसै गरी नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन भाग लिने छन् । जाँतो (चकिया) एकल चिह्नमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले चुनाव लड्दै छन् ।

११ जनाको मात्रै नाम दिने दलको संख्या ६ वटा रहेको छ । ती पार्टीहरूमा गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली कांग्रेस (बीपी) र नेपाली जनश्रमदान संस्कृति पार्टी रहेका छन् ।

समानुपातिकतर्फ १२ सिटमा उम्मेदवारी दिने दल जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल गरी ५ दल रहेका छन् । नेपाल जनता संरक्षण पार्टीले १७ र पिपुल फस्ट पार्टीले १८ जनाको नाम बुझाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल मातृभूमि पार्टी र बहुजन शक्ति पार्टीले २०–२० जनाको नाम बुझाएको छ । उन्नत लोकतन्त्र पार्टीले २२, त्रिमूल नेपालले २३ जनाको नाम बुझाएको छ । २५ जनाको नाम बुझाउने दलको संख्या तीन रहेको छ । त्यसमा नागरिक शक्ति नेपाल, जनता लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय गौरव पार्टी रहेका छन् । नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले एकल चिह्न जकर भएको सिंहमा चुनाव लड्दै छन् । यी दुई दलले पनि समानुपातिकतर्फ २५ जनाको नाम बुझाएका छन् ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २७, सार्वभौम नागरिक पार्टीले २८, नेसनल रिपब्लिक नेपालले २९, समावेशी समाजवादी पार्टीले ३१, समावेशी समाजवादी पार्टीले ३२, राष्ट्र निर्माण पार्टी नेपालले ३५, प्रजातान्त्रिक पार्टी नेपालले ४१, नेपालको लागि नेपाली पार्टीले ४३, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४६ र राष्ट्रिय परिवर्तन पार्टीले ४९ जनाको नाम बुझाएका छन् । ५० जनाभन्दा माथि नाम बुझाउने दल चारवटा छन् । जय मातृभूमि पार्टीले ५५,नेपाल जनता पार्टीले ६०, संयुक्त नागरिक पार्टीले ६१ र जनता समाजवादी पार्टी नेपालले १ सय १ जनाको नाम बुझाएका छन् ।

समानुपातिक सूचीमा आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्दा कम्तीमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्छ । आदिवासी जनजातिमा २८ दशमलव ७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३० दशमलव २८ प्रतिशत, थारूमा ६ दशमलव ५२, दलितमा १३ दशमलव ४४ प्रतिशत उम्मेदवार छान्नुपर्छ । मधेसीमा १६ दशमलव १५, मुस्लिममा ४ दशमलव ८९ र पिछडिएको क्षेत्रबाट कम्तीमा ४ दशमलव ०२ प्रतिशत उम्मेदवार छान्नुपर्ने प्रावधान रहेको छ ।