काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम गर्दै दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन भएको बताउँदै त्यसमा सहयोग गर्न प्रसाईँलाई आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले मुलुक अब थप अस्थिरता र अशान्ति थेग्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अघि सार्न आग्रह गरिन्।
उनले जनतामाझ गएर आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको सही बाटो भएको धारणा राखिन्। नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित अभियान चलाउँदै आएका प्रसाईँलाई प्रधानमन्त्रीले निर्वाचन प्रक्रियामार्फत जनसमर्थन परीक्षण गर्न सुझाव दिइन्। मुलुक निर्वाचनमा प्रवेश गरिसकेको अवस्थामा यो अवसरको सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो। “धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “सबै प्रकारका संशयलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहौलमा होमिएको छ।
यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित छ। यो देश मेरो पनि हो भन्ने भावना लिएर सबै जिम्मेवार बनौँ।” भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र प्रसाईँलाई उपहारस्वरूप प्रदान गरिन्। प्रधानमन्त्रीले सरकार न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको स्पष्ट पार्दै भनिन्, “हामी सत्ताभोग र सुखसयलका लागि आएका होइनौँ।
भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै परिणाम रातारात नदेखिए पनि हामी आधारशीला तयार गर्दै अघि बढिरहेका छौँ।” उनले प्रसाईँले उठाएका केही मुद्दा जायज रहेको स्वीकार गर्दै तिनको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिइन्। “अझै थप छलफल गर्दै जाऔँला,” प्रधानमन्त्री कार्कीले भनिन्। भेटवार्तामा दुबै पक्षबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचन, शान्ति–सुरक्षा र नागरिकका मागबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।











प्रतिक्रिया