काठमाडौं ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा ‘नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ यही पुस २३ देखि सञ्चालन हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा २६ गतेसम्म हुने प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
प्रतियोगितामा तीन विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपीएफ) सहित न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने यस संस्करणको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ । आयोजकको अनुसार विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
त्यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै, उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपैयाँसहित विशेष सम्मान गरिने परम्परालाई यसपटक पनि निरन्तरता दिइनेछ ।
नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । कन्ट्री हेड मिश्रले प्रतियोगिताको उँचाइ बढ्दै गएकाले संस्थाले बजेट विनियोजनलाई प्राथमिकता दिएको बताए ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे । सुरक्षा र जोखिम व्यवस्थापनका लागि आयोजकले हरेक खेलाडी र प्राविधिक टोलीका सदस्यहरूको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको जानकारी दिएको छ ।
राखेप, बागमती प्रदेश खेलकुद विकास परिषद् र विभिन्न कर्पोरेट हाउसहरूको सहयोगमा सञ्चालन हुने यस प्रतियोगिताले महिला खेलाडीहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
२०७२ सालदेखि सुरु भएको यस प्रतियोगिताको इतिहासमा सुरुका ६ संस्करण एपीएफले जितेको थियो भने सातौंमा न्यु डायमन्ड र गत संस्करणमा नेपाल प्रहरी च्याम्पियन बनेका थिए ।











प्रतिक्रिया