बोनस विषयमा श्रमिक युनियनको पत्रकार सम्मेलनप्रति जगदम्बा स्टील्सको आपत्ति


काठमााडौँ
जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले हालै गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगले श्रमिक युनियनले बोनसको विषयलाई लिएर पत्रकार सम्मेलन गरी उद्योगको आन्तरिक विषयवस्तु सार्वजनिक गरेको र त्यसका आधारमा सञ्चारमाध्यममा तथ्यहीन समाचार सम्प्रेषण भएको आरोप लगाएको छ ।

उद्योगका अनुसार पुस ८ गते श्रमिक युनियनले बोनसको विषयमा पत्रकार सम्मेलन गर्दै प्रचलित बोनस ऐन र नियम विपरीत मनोमानी ढंगले रकम माग गरेको थियो । युनियन पदाधिकारीले आफूले पाउने वास्तविक बोनस रकम नबुझी अवाञ्छित माग राख्नुका साथै व्यवस्थापनमा कार्यरत व्यक्तिलाई धाकधम्की दिँदै उद्योग परिसरमा असहज वातावरण सिर्जना गरेको उद्योगको दाबी छ ।

जगदम्बा स्टील्सले उद्योग, कर्मचारी तथा श्रमिकसँग असम्बन्धित व्यक्तिलाई पत्रकार सम्मेलनमा सहभागी गराई उद्योगविरुद्ध गलत सन्देश प्रवाह गरिएको भन्दै यस्ता गतिविधि कानूनी तथा व्यवहारिक रूपमा असह्य भएको बिहिवार उधोग प्रशासनले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

बोनस वितरणको विषयमा उत्पन्न विवाद समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सालाई समेत सहजीकरणका लागि अनुरोध गरिएको उद्योगले जनाएको छ । तर बोनस ऐन विपरीत गैरकानुनी रूपमा माग गरिएको रकम असोज ५ भित्र नदिए बन्दहड्ताल गर्ने अल्टिमेटम दिइएको कारण न्यायिक निकासका लागि अदालतको शरण लिन बाध्य भएको उद्योगको भनाइ छ । उद्योगका अनुसार उक्त विषयमा अदालतबाट विवाद निरूपण भइसकेको छ ।

तर अदालतको फैसलाप्रति असन्तुष्टि भए कानूनी उपचार खोज्नु पर्नेमा पुनः बोनसकै बहानामा आधिकारिक ट्रेड युनियनले उद्योग बन्द गर्ने धम्की दिने, पत्रकार सम्मेलन गर्ने तथा सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्ने गैरजिम्मेवार कार्य जारी राखेको आरोप लगाइएको छ । यसअघि हुलास स्टील, त्रिवेणी स्पिनिङ र भगवती स्टील इन्डस्ट्रिजमा युनियनद्वारा गरिएको दुव्र्यवहारजस्तै गतिविधि यही उद्योगमा पनि दोहो¥याउने धम्की दिइएको र भदौ २९ गते सोही किसिमको व्यवहार भएको उद्योगले निकालेको प्रेस बिज्ञप्तीमा जनाएको छ ।