नेपाल मेडिकल काउन्सिल निर्वाचन : मतगणना सुरु, उपाध्यक्षमा डा. गुरुशरण साहको अग्रता


काठमाडौँ ।

हिजो सम्पन्न नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना आज दिउँसोदेखि सुरु भएको छ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार हालसम्म ८ सय मतको गणना सम्पन्न भइसकेको छ। सार्वजनिक प्रारम्भिक नतिजाअनुसार उपाध्यक्ष पदमा डा. गुरुशरण साह ४२० मतका साथ अग्रस्थानमा रहेका छन्। उनलाई डा. कुञ्जाङ शेर्पाले २५१ मतका साथ पछ्याइरहेका छन्।

सदस्य पदतर्फ आठ जनाको चयन हुनेमा डा. सारिका गोइत ४२७ मतसहित सबैभन्दा अगाडि रहेकी छन्। दोस्रो स्थानमा डा. युभिनकुमार यादव ३७३ मतका साथ छन् भने तेस्रो स्थानमा डा. छविलाल पन्थी ३०२ मतसहित रहेका छन्। चौथो स्थानमा डा. सरोजकुमार साह २७० मतका साथ छन्।

यस्तै, डा. उज्वल ठाकुर २३० मतका साथ पाँचौँ स्थानमा पुगेका छन्। डा. दीपेन्द्र पाण्डे २२८ मतसहित छैटौँ, डा. सम्राट पराजुली २२५ मतसहित सातौँ तथा डा. सरोजकुमार गोहियार २२१ मतसहित आठौँ स्थानमा रहेका छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।