एसियन वाइल्ड वाटर क्यानोइंगमा नेपाललाई पहिलोपटक स्वर्ण

कृष्ण खड्काको १० वर्षे साधनाको प्रतिफल

846
Shares

भनिन्छ, ढुङ्गालाई हिरा बन्नका लागि वर्षौँसम्म असह्य दबाब र तापक्रम चाहिन्छ । उदयपुरको बेलसोत, कटारी–१ का कृष्ण खड्काका लागि त्यो दबाब भोटेकोशीका भयङ्कर र खुङ्खार छालहरू थिए, अनि त्यो तापक्रम आफ्नो देशको झन्डा अन्तर्राष्ट्रिय आकाशमा फहराउने उनको दन्किँदो सपना । डिसेम्बर २०२५ को तेस्रो साता, चीनको युनान प्रान्तस्थित नुजियांग नदीको किनारमा १८ देशका झन्डाहरू फरफराइरहेका थिए । त्यहाँ त्यस्ता खेलाडीहरू थिए, जसलाई उनीहरूको देशले अत्याधुनिक प्रविधि, करोडौँको लगानी र विदेशी प्रशिक्षकको सुरक्षा दिएर पठाएका थिए । तर, त्यही भीडमा रहेका कृष्णको मुटुमा भने सगरमाथा जत्रो आँट अटेको थियो । जसको सफलताको गाथा सुन्दा कुनै काल्पनिक सिनेमाको पात्र जस्तो लाग्छ । तर, यो कुनै सिनेमा होइन, बरु १० वर्षसम्म भोटेकोशी र त्रिशूलीका उर्लिँदो छालहरूसँग पौँठेजोरी खेलेर खारिएको एक नेपाली युवाको रगत र पसिनाले सिर्जित वास्तविकता हो ।

नदीसँगको मितेरी

नेपालका नदीहरू केवल जलविद्युत्का लागि मात्र होइनन्, कृष्ण जस्ता स्टारहरू उत्पादन गर्ने प्राकृतिक ‘प्रशिक्षण केन्द्र’ पनि हुन् । कृष्णको यो सफलता कुनै सुखसयल वा राज्यको लगानीको उपज होइन । सन् २०१५ मा १५ वर्षको कलिलो उमेरमा त्रिशूलीको किनारबाट सुरु भएको उनको यात्रामा कैयौँ पटक अभावका पहाडहरू उभिए । तर, उनीभित्र एउटा यस्तो ‘पागलपन’ थियो, जसले उनलाई कहिल्यै थकित हुन दिएन । जब संसार निदाइरहेको हुन्थ्यो, उनी हरेक बिहान सबेरै उठ्थे, आफ्नो भारी कायक (डुङ्गा) एक्लै काँधमा बोक्थे र नदीको किनारमा पुग्थे । त्यहाँ न कुनै उद्धार टोली हुन्थ्यो, न त कुनै आधुनिक तालिम केन्द्र । उनले आफ्नै ज्यानको जोखिम मोलेर नदीको माथिल्लो भागदेखि तल्लो भागसम्म एक्लै अभ्यास गर्थे । कहिलेकाहीँ त उर्लिँदो भोटेकोशीले उनलाई पछार्न खोज्थ्यो, तर उनी झन् बलियो गरी प्याडल समात्थे ।
विशेषगरी ‘जमेको पानी’ मा गरेको घण्टौँको मेहनतले उनलाई पानीको बहाव नियन्त्रण गर्ने अभूतपूर्व कला सिकायो । उनले पानीको धारको विपरीत दिशामा प्याडल चलाएर आफ्नो पाखुरामा त्यो शक्ति भरे, जसले अन्ततः उनलाई एसियाकै अब्बल बनायो । १० वर्षसम्म उनले आफ्नो पेशा (र्याफ्टिङ र कायकिङ गाइड) लाई नै आफ्नो खेलको मैदान बनाए । दिउँसो पर्यटकलाई नदी घुमाउँदा होस् वा बिहान–बेलुकाको व्यक्तिगत अभ्यास, उनको शरीरले पानीको भाषा बुझ्न थालिसकेको थियो । उनलाई विश्वास थियो, यो संघर्ष कुनै दिन देशको गौरव बन्नेछ भनेर ।

१४७ प्रतिद्वन्द्वीमाथि विजय

२०२५ को डिसेम्बर १६ देखि २२ सम्म चीनको युनान प्रान्तको नुजियांग नदीमा आयोजित एसियन वाइल्ड वाटर क्यानोइंग च्याम्पियनसिप अन्तर्गत ३ सय ५० मिटरको ‘सर्ट डिस्टेन्स रेस’ सुरु भएको सिठ्ठी बज्यो । तब १८ देशका १ सय ४८ जना अनुभवी खेलाडीहरू पानीमा एकैसाथ होमिए । नुजियांग नदीको चिसो पानीमा जब अन्तिम ५० मिटरको खेल बाँकी थियो, विश्वका हस्ती खेलाडीहरू गल्न थालेका थिए । तर, कृष्णलाई भोटेकोशीको त्यो उल्टो बहावमा गरेको अभ्यासको अनुभवले भने साथ दियो । उनले आफ्नो कायकलाई यसरी हुइँक्याए कि मानौँ कुनै बाजले सिकार झम्टिरहेको छ ।

१ सय ४७ जना विश्वस्तरीय खेलाडीलाई धुलो चटाउँदै जब कृष्णले फिनिसिङ लाइन पार गरे, तब नेपाली खेलकुदको इतिहासमा एउटा नयाँ स्वर्णिम अध्याय थपियो । यो जित केवल एउटा पदकको प्राप्ति मात्र थिएन, यो त नेपाली रगतको त्यो पराक्रम थियो जसले विश्वमा साहसी खेलमार्फत पनि नेपालीको परिचयमा इँटा थप्ने काम ग¥यो । नेपाल र्याफ्टिंग एन्ड क्यानोइंग एसोसिएसनका अफिसियल सूर्यप्रसाद जोशी र महेश थापासँगै चीन पुगेका अर्का नेपाली खेलाडी रञ्जन कंडेलले पनि कांस्य पदक जितेपछि गुञ्जिएको नेपाली राष्ट्रिय गानले चीनको त्यस प्रतिस्पर्धा स्थलमा उपस्थित सबै नेपालीको छाती गर्वले फुल्यो ।

नगद पुरस्कारबिहीन विजेता

विडम्बना नै भन्नुपर्छ, एसियाली इतिहास रचेर फर्किएका यी नायकको हातमा कुनै नगद पुरस्कार परेन । विदेशी खेलाडीहरू स्वर्ण जितेपछि लाखौँको इनाम र विलासी जीवनमा रमाउने गर्छन् । तर, कृष्ण भने एउटा तृप्त मुस्कानका साथ भन्छन्,–“देशका लागि पहिलोपटक एसियाली र्याफ्टिंग एन्ड क्यानोइंग प्रतियोगितामार्फत स्वर्ण पदक ल्याउनु नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो । नेपाल र्याफ्टिंग एन्ड क्यानोइंग एसोसिएसनले मेरो प्रतिभाको सही पहिचान गरी यस प्रतियोगितामा सहभागी गराउनु नै मेरो सफलताको पहिलो खुड्किलो थियो । अबको उद्देश्य नेपालमा कायकिङ विकास गर्नु, नयाँ खेलाडीलाई प्रेरणा दिनु र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो बनाउनु हो ।” यो वाक्यले उनको राष्ट्रभक्ति र खेलप्रतिको निस्वार्थ प्रेमलाई झल्काउँछ । यसअघि ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२४’ र त्रिशूलीको ३९ किलोमिटर लामो रेसमा आफूलाई प्रमाणित गरिसकेका कृष्णका लागि यो स्वर्ण पदक १० वर्षे कठोर साधनाको मीठो फल हो ।

राज्यलाई प्रश्न, कतिञ्जेल ओझेलमा राख्ने यी हिराहरूलाई ?

नेपालमा क्रिकेट र फुटबलको कोलाहलमा कृष्ण जस्ता ‘साइलेन्ट हिरो’ हरू छाँयामा पर्ने गरेका छन् । के हामीले हाम्रा हिराहरूलाई सधैँ गुमनामी कै खाडलमा राख्ने हो ? कृष्णको अबको लक्ष्य युरोप र अमेरिकाका छालहरूलाई जितेर नेपालको झन्डा फहराउनु हो । उनी विश्वका उत्कृष्ट १० कायकरभित्र पर्न चाहन्छन् । तर, के राज्यले उनलाई एउटा आधुनिक ‘स्लालोम’ र आर्थिक सुरक्षा दिन सक्छ ? कृष्ण खड्का त एक जना प्रतिनिधि पात्र मात्र हुन् । नेपालका नदीहरूले यस्ता कैयौँ ‘पानीका बाघ’ हरू जन्माउन सक्छन् । अहिले कृष्णले आफ्नो १० वर्षे साधनाबाट देशलाई स्वर्ण दिलाएका छन् । अब पालो राज्यको हो, यी स्वर्णपदक विजेतालाई सम्मान गर्ने कि फेरि भोटेकोशीकै छालमा बेवास्ता गरेर छोड्ने ?