माइती नेपालको चारदिने जनचेतना मूलक अभियान सुरु

470
Shares

उदयपुर । 

माइती नेपालले फ्रि ए गर्लको डाउन टु जिरो परियोजनाको सहयोगमा मानव बेचबिखन, घरेलु हिंसा तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी चारदिने बृहत जनचेतनामूलक अभियान सुरु गरेको छ ।  यो अभियान पौष ७ देखि पौष १०, २०८२  सम्म सिन्धुली, रामेछाप र गाईघाट जिल्लाहरूको पालिकाहरुमा सञ्चालन हुनेछ ।

अभियानको पहिलो कार्यक्रम सिन्धुली जिल्लाको खुर्कोटस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भयो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत माइती नेपालका महिला पुनस्र्थापना केन्द्र तथा बाल संरक्षण गृहमा आश्रित महिला तथा बालबालिकाद्वारा प्रस्तुत जनचेतनामूलक नाटक र नृत्यमार्फत मानव बेचबिखन, घरेलु हिंसा तथा असुरक्षित वैदेशिक रोजगारीका जोखिमबारे सन्देश प्रवाह गरियो।

कार्यक्रममा माइती नेपालकी अधिवक्ता श्री सजनी जोशीले मानव बेचबिखन तथा घरेलु हिंसाविरुद्धको चेतना, सुरक्षित बसाइँसराइको महत्व, तथा समुदायको भूमिका विषयमा प्रकाश पारिन्  । उनले विशेषगरी रोकथाम, सतर्कता र सही जानकारीको पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

विद्यालय परिसरमा स्थानीय नागरिकहरूको समेत उपस्थिति रहेको थियो । साथै, सचेतना सन्देशलाई थप प्रभावकारी बनाउन सूचना, शिक्षा तथा सञ्चार सामग्रीहरू वितरण गरिएको थियो ।

यस अभियानमार्फत माइती नेपालले समुदायस्तरमा चेतना अभिवृद्धि गर्दै विशेषगरी महिला तथा बालबालिकालाई मानव बेचबिखन तथा हिंसाका जोखिमबाट सुरक्षित राख्न योगदान पु¥याउने लक्ष्य लिएको छ ।