काठमाडौं।
काठमाडौं महानगरपालिकाले स्थलगत अनुगमनका क्रममा नभेटेको र नदेखेका विद्यालयको अनुमति खारेज गर्ने भएको छ । जनबोलीको भाषामा ‘झोले’ भनिएका ती विद्यालय अबको कार्यपालिका बैठकबाट बन्द गर्ने निर्णय हुनेछ । कामपा शिक्षा विभागले बन्द गर्ने सार्वजनिक गरेको सूचीमा चर्चित विद्यालय छन् ।
महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा अनुगमन, छात्रवृत्तिलगायत विषयमा कडा आचारसंहिता पालन गर्नुपर्ने भएकाले बन्द गर्ने सूचीमा रहेका १०७ विद्यालय अन्यत्र सरेको हुन सक्ने आशंका छ । कामपाले सार्वजनिक गरेको सूचीमा न्युप्लाजा पुतली सडकको न्यु डनबस्को, बानेश्वरको सेन्टपल, मध्यबानेश्वरको एक्सिस इन्टरनेसनल, शान्तिनगरको सान्त्वना मेमोरियल, भीमसेनगोलाको इन्द्रधनुस, महाराजगञ्जको स्टेफिन इन्टरनेसनल, रुद्रमति चोकको अरुणोदय एकेडेमी, मैतिदेवीको न्यु समिट सेकेन्डरी स्कुल, ज्ञानेश्वरको साई शिक्षा निकेतन, सामाखुसीको ग्रीनल्यान्ड, चिल्ड्रेन एकेडेमी, लैनचौरको काठमाडांै निस्ट, बाँसबारीको चाँदवाग विद्यालय बन्दको सूचीमा रहेका छन् ।
कामपा शिक्षा विभाग प्रमुख केशव ज्ञवालीका अनुसार अबको १० दिनभित्र कागजात नबुझाउने विद्यालयलाई बन्द गर्ने प्रक्रियामा अघि बढाउनेछ । उहाँले भन्नुभयो– ‘बन्द गरेपछि इमिसबाट नाम हटाएर सबै रेकर्ड मेटाउनेछौं ।’ उहाँका अनुसार विभागले सबै प्रक्रिया पूरा गरेपछि कार्यपालिकाको बैठकमा पेस गरेर कागजात पूरा भएका विद्यालयलाई अनुमति दिने र बाँकीलाई बन्द गर्ने तयारी गर्नेछौं ।
कामपाले जारी गरेको सूचनामा भीमसेन स्थानको नमुना, बालाजुको राजधानी सेकेन्डरी स्कुल, ठेगाना नखुलेको सहिद रामनाथ दाहाल स्मृति सेकेन्डरी स्कुल, सामाखुसीको ग्रेस एजुकेसन फाउन्डेशन, द एलिट कोएड, चमतीको प्रज्ञा ज्योति, चन्डोलको बालुवाटार मोडल स्कुल, ठेगाना नखुलेको क्रिस्टल, हिमाल, सान इन्टरनेसनल, शान्ति प्राईमरी मैतिदेवी आवास छन् ।
त्यस्तै सोह्रखुट्टेको लिट्टलबुद्ध, महाराजगन्जको गौरीशंकर, कालिमाटीको जिलेट, बाफलको जेनिथ, बबरमहलको ओलम्पिया बल्र्ड, बालुवाटरको मातृभूमि शिक्षा सदन, अरुणदीप, धुम्बराहीको न्यु मिलेनियम, बुद्धनगरको कोलम्बस, नयाँ बानेश्वरको भद्रा घले शिक्षा सदन, शंखमूलको नेसनल एकेडेमी, सिनामंगलको बु्रकफिल्ड, काठमाडौं विनायक शिक्षालय, बत्तीसपुतलीको अंकुर विद्याश्रम, मित्रपार्कको सगरमाथा विद्यामन्दिर, नेसनल पायोनियर एकेडेमी, बाबा बोर्डिङ स्कुललगायत छन् ।
बिचौलियाको माध्यमबाट लाखौं रुपियाँमा झोले विद्यालय खरिद बिक्री हुने जानकारी पाएपछि कामपाले झोले विद्यालयको उपमा दिएर बन्द गर्न लागेको हो । शिक्षा विभाग प्रमुख ज्ञवालीले सबै विद्यालय अनुगमन गर्ने क्रमममा उल्लेख गरिएका १०७ वटा विद्यालय फेला नपरेपछि प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । विभागको विद्यालय तथ्याङ्क राख्ने इमिसमा ६६९ वटा विद्यालयको रेकर्ड छ । १०७ वटा विद्यालय इमिसमा दर्ता भए पनि भेटिएको छैन ।
विभागले विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन भन्दै ताकेता गरेको हो । सूचीबमोजिमका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक र गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कामपा शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्न भनिएको छ ।
विभागले सम्पर्कमा आउन आग्रह गरेका मध्ये केही विद्यालय सम्पर्कमा विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा कामपा वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको सूचनामा भनिएको छ । सम्पर्कमा नआए कामपा शिक्षा ऐन २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने सूचनामा उल्लेख छ ।
काठमाडौैैैैैं महानगर प्याब्सन महानगर कमिटीका अध्यक्ष गगन ऐरले कामपाले हालसम्म फेला नपरेका संस्थागत विद्यालयलाई सम्पर्क गर्न आउने बारेमा सूचना निकालेको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । बुधबार कामपा महानगरका संस्थागत विद्यालयको बैठकमा सूचनाको बारेमा छलफलमात्र भएको थियो ।











प्रतिक्रिया