काठमाडौं ।
जेन–जी आन्दोलनलगत्तै बनेको नयाँ सरकारको नेतृत्व गर्नबाट पछि हटेका काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) अन्ततः राजनीतिक सक्रियता बढाउँदै भावी प्रधानमन्त्रीको रूपमा आफूलाई उभ्याउने गृहकार्यमा जुट्नुभएको छ ।
जेन–जीहरूले डिस्कोर्समा बालेनलाई प्रधानमन्त्रीका लागि अत्यधिक मत जाहेर गरेका थिए तर बालेन पछि हटेपछि उहाँकै इच्छाअनुसार पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । त्यसपछि तीन महिनासम्म शान्त बसेका बालेनले पछिल्ला केही दिनदेखि एकाएक राजनीतिक गतिविधि बढाउँदै आफैंलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याउन खोज्नुभएको हो ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलगत्तै तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेको केही घण्टामा नै बालेनले आफ्नो फेसबुकमा स्टाटस राख्दै जेनजीहरूलाई प्रधानसेनापतिसँग वार्ता गरी निकास निकाल्न आग्रह गर्नुका साथै त्यसको लागि प्रतिनिधिसभा विघटन मुख्य सर्त हुनुपर्ने उल्लेख गर्नुभएको थियो । बालेनकै सर्तअनुसार प्रतिनिधिसभा विघटन भयो भने सेनाकै सहजीकरणमा सुशीला कार्की नेतृत्वको सरकार पनि बन्यो ।
राजनीतिक विश्लेषकहरूका अनुसार अब सीधै निर्वाचन भएमा त्यो सबै बालेनकै एजेन्डाअनुसार हुने भएकाले मुलुक बालेनकै योजनाअनुसार चलिरहेको छ । बालेनले केही दिनदेखि राजनीतिक भेटघाट तीव्र पार्दै राजनीतिमा आउने स्पष्ट सन्देश दिँदै गर्दा औपचारिक रूपमा पार्टी खोलेर आफ्नो विचार स्पष्ट पार्नुभएको भने छैन ।
उहाँले पछिल्लो बिहीबारमात्रै आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेन–जी अगुवाहरूसँग आग्रह गर्नुभएको छ । उहाँले गत सोमबार राती कमलपोखरीस्थित एक घरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६ घण्टासम्म वार्ता गरी आगामी निर्वाचनमा मिलेर जानुपर्ने भन्दै भावी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसयता बालेनले नयाँ दलका विभिन्न नेताहरू तथा पुराना दलका केही व्यक्ति, स्वतन्त्र व्यक्तिहरूलाई भेटेर आगामी दिनमा राजनीतिलाई केकसरी अघि बढाउन सकिन्छ भन्नेमा परामर्श लिँदै आउनुभएको छ ।
बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा उहाँले रास्वपा सभापति रविसँग दोस्रोपटक वार्ता गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जेन–जी अभियन्ता रक्षा बमलगायतसँग भेटेर आवश्यक परामर्श लिनुभएको थियो । उक्त वार्तामा पनि बालेनले लामिछानेसँग सबै पक्षलाई मिलाएर लैजान आफू लागिपर्ने र निर्वाचन पछि नयाँ शक्तिले बहुमत ल्याउने र त्यसपछि प्रधानमन्त्री आफू हुनुपर्ने चाहना राख्नुभएको र रविले भने कुनै जवाफ नदिएको र आफूले आफ्नो पार्टीका उच्च तहका नेताहरूसँग छलफल गरेरमात्रै केही भन्न सक्ने जवाफ दिनुभएको बताइएको छ । कुराकानीका क्रममा बालेनले हर्क साम्पाङ, गोपी हमाललगायत सबै शक्ति जोड्ने काम आफूले पूरा गर्न सक्ने तर रास्वपाले पहल गर्दा यी सबै जोडिन नसक्नेमा विचार राख्नुभएको बताइन्छ ।
बालेन निकट स्रोतका अनुसार बालेन अब आफैं पार्टीमा सक्रिय भएर अघि बढ्ने योजनामा पुग्नुभएको छ । बालेनले समर्थन गरेको भनिएको देशविकास पार्टीमार्फत उहाँले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बताइएको छ । बालेनले लामिछानेको रास्वपा, कुलमानको उज्यालो नेपाल पार्टी तथा हर्क साम्पाङको श्रम संस्कृति पार्टी तथा जेन–जी आन्दोलन पछि खोलिएका अन्य केही पार्टीसँग चुनावी तालमेल गरेर अघि बढ्ने गरी गृहकार्य गरिरहेको बताइएको छ ।
स्रोतका अनुसार बालेन रास्वपा सभापति रविप्रति खासै सकारात्मक हुनुहुन्न । बालेनले रास्वपालाई पनि करिब करिब पुरानै दलको कित्तामा राख्दै आइरहेको उहाँकै पछिल्ला अभिव्यक्तिले पनि प्रष्ट पार्छ । २०७९ सालको आम निर्वाचनलगत्तै लामिछाने केपी शर्मा ओली र प्रचण्डसँग मिलेर सत्तामा गएको विषय बालेनले अझै पनि आफू निकटस्थहरूसँग उठाउने गर्नुभएको छ । बालेनले केही समय अघि स्टाटसमार्फत सबै पुराना दलहरूलाई ‘फक’ भनेर गाली गर्दा ‘फक आरएसपी’ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि गाली गर्नुभएको थियो ।
बालेनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ । यसअघि कुलमानले रास्वपा सँगको सहमति र एकताको बाटो धेरै टाढा गएको बताउनुभएको थियो ।

बालेन र रवि किन झस्किए एकअर्कासँग ?
गत सोमबार कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन रविसँग झस्किएको बालेन निकट स्रोतले बताएको छ । स्रोतका अनुसार रविसँग कुरा गर्दा केही संकेत पाएका र पछि रविले अर्कै किसिमले कुरा गरेको भन्दै बालेन केही असन्तुष्ट बन्नुभएको हो । रवि बालेनलाई आफ्नै पार्टीका एकीकृत गर्ने योजनामा रहे पनि बालेन भने अब देशविकास पार्टीको ब्यानरमा अघि बढ्ने योजनामा रहेको देखिएपछि रवि पनि बालेनसँग झस्किनुभएको हो । बालेनसँगको छलफलमा रविले रास्वपा ५ सय भन्दा बढ्ता पालिकासम्म संगठन खडा गरिसकेको, यसअघि नै १२ लाख भोट पाइसकेको दल भएकाले यसैमा मिल्दा सहज हुने तर्क गर्नुभएको थियो । तर, बालेनले रविको सो तर्कमा सहमति नजनाएको बताइएको छ ।
जेन–जी विद्रोहको केन्द्रमा आफ्नो नामबारे भएको आम छलफललाई बालेनले बैठकमा सांगठनिक शक्तिका रूपमा मान्यता दिइनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । ‘मैले चाहेको भए यति बेला यो बैठक नै बालुवाटारमा हुन सक्थ्यो, तर मैले तत्काल प्रधानमन्त्री बन्ने रुचि राखिन् । ’बालेनलाई उद्धृत गर्दै उहाँ निकट स्रोतले भन्यो । बालेनले आफूले जेनजीहरूलाई पनि पटक पटक भेटेको र उनीहरूको भावनाअनुसार अघि बढ्ने मोडल बनाउनुपर्ने बताउनुभएको स्रोतले जनायो ।











प्रतिक्रिया