नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउँदै


काठमाडौँ।

नेपालले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ (ASU) र अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (ISU) को सहकार्यमा हुन लागेको शर्ट ट्रयाक स्पीड आइस स्केटिङ प्रतियोगितामा नेपालका खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रतियोगिता यही पुष १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा नेपालबाट २ जना महिला र ४ जना पुरुष खेलाडी सहभागी हुनेछन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार सिनियर पुरुषतर्फ १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे सहभागी हुनेछन्। यस्तै, जुनियर महिला ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे, तथा जुनियर पुरुष २५० मिटरमा जेभियर जंग थापा र सायोन अर्याल ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

प्रतियोगिताका लागि जाने नेपाली टोलीमा रुम्पा सन्जु श्रेष्ठ टिम म्यानेजर र संघका महासचिव सत्य थापा अफिसियलको रूपमा सहभागी हुनेछन्।

टोलीको बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगितामा नेपालको पहिलो सहभागिता ऐतिहासिक भएको उल्लेख गर्दै खुशी व्यक्त गरे। उनले आइस स्केटिङ शीतकालीन ओलम्पिक खेल भएको र नेपालको भूगोलअनुकूल खेल भएकाले भविष्यमा यस खेलबाट नेपालले पदक जित्ने विश्वास व्यक्त गरे।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निवेदक राष्ट्रिय संघका रूपमा मान्यता प्राप्त संघ हो।